काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा कार्यालयमा कार्यरत अभिकर्ता समूहलाई एक दिने तालिम प्रदान गरेको छ ।
कम्पनीले मासिक योजना 'मन्थन २०८२' अन्तर्गत बीमाशुल्क संकलनमा उत्कृष्ट प्रदर्शन गर्ने १६० जना अभिकर्तालाई महेन्द्रनगर, शुक्लाफाँटास्थित होटल ओपेरामा तालिम दिएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमद द्वारा बीमा क्षेत्रमा चर्चित एमडिआरटी लक्ष्य पूरा गर्ने उपाय सम्बन्धी विभिन्न उदाहरणसहित सञ्चालन गरिएको थियो ।
सहायक महाप्रवन्धक विवेक शर्माले कार्यक्रमको उद्घाटन पानस प्रज्वलन गर्दै गरेका थिए । कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागी अभिकर्तालाई स्वागत गरे भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ता पेशागत उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका थिए ।
कार्यक्रममा विभिन्न शाखामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सहायक महाप्रवन्धक शर्माले मायाको चिनो प्रदान गरेका थिए । सहभागी अभिकर्ताले चर्चित प्रशिक्षकबाट तालिम लिन पाउँदा खुसी व्यक्त गरेका थिए भने सम्मानित अभिकर्ताले आफ्नो मेहनतको कदर भएकोमा खुशी व्यक्त गरेका थिए ।