काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रबिन सिजापती नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष सिजापतीले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको गत चैत ९ गते असामयिक निधन भएपछि रिक्त रहेको पदमा सिजापतीलाई चयन गरिएको हो ।
चैत २४ गते बसेको सञ्चालक समितिको २०१ औं बैठकले सिजापतीलाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो ।
सपथ ग्रहण समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
उनका अनुसार स्थापनाको १२ औं वर्षमा आइपुग्दा नेशनल लघुवित्तले ७४ जिल्लाका १८५ वटा शाखा कार्यालयमार्फत करिब २ लाख ६० हजार विपन्न सदस्यहरूलाई सेवा प्रदान गरिरहेको छ ।
हाल संस्थाको कुल लगानीमा २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा, ६ अर्ब रुपैयाँभन्दा बढी बचत संकलन तथा करिब ९०० जना कर्मचारीको संख्या छ ।
सपथ ग्रहणपछि बोल्दै नवनियुक्त अध्यक्ष सिजापतीले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नीति तथा निर्देशनहरूको कार्यान्वयनलाई आगामी दिनमा थप प्रभावकारी र कडाइका साथ लैजाने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले संस्थाका विभिन्न सूचकहरू उत्सा हजनक रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। उनले संस्थालाई अझै सुदृढ र विश्वसनीय बनाउँदै लैजान आग्रह समेत गरे ।