विद्युत प्राधिकरणद्वारा थप ८ सहिद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको १०२९औं बैठकले 'जेनजी' आन्दोलनका थप ८ सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्राधिकरणले गत २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तर यसअघि रोजगारीका लागि नाम छुट भएका परिवारका सदस्यलाई नियुक्ति दिने प्रक्रिया अघि बढाएको छ । नेपाल राजपत्र (२०८२ कात्तिक १७ गते) मा भएको व्यवस्था र राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधिको बुँदा नम्बर ११ अनुसार यो निर्णय लिइएको हो ।

रोजगारी पाउने सहिद परिवारका सदस्यहरूमा रोजित श्रेष्ठ (वनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर),सुमित्रा महत (सिन्धुपाल्चोक), शितल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) तथा मञ्जु पौडेल (लमजुङ) छन् ।

यसअघि प्राधिकरणले २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया सुरु गरिसकेको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनका बारेमा समेत जानकारी लिएको छ ।

 प्राधिकरणको प्रशासनिक र प्राविधिक सुधारका लागि कार्यकारी निर्देशकको कार्य सम्पादनलाई सञ्चालक समितिले नियमित रूपमा अनुगमन गर्दै आएको छ । बैठकमा ऊर्जा मन्त्रालयका पदाधिकारीहरू र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

Share News