निलम्बनमा भृकुटी स्टक, लगानीकर्ताको ५.११ अर्ब भुक्तानी बाँकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमतिपत्र निलम्बन गरेको छ । बोर्डले चैत २३ गते गरेको निर्णयअनुसार कम्पनीले प्रचलित नियमविपरीत कार्य गरेको पाइएपछि लाइसेन्स निलम्बन गरिएको जनाएको छ ।

बोर्डका अनुसार कम्पनीले ग्राहकहरूको सेयर खरिद–बिक्री तथा कोल्याट्रल वापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको थियो, जुन धितोपत्र व्यवसायीसम्बन्धी नियमावली, २०६४ को नियम ३१ विपरीत हो । 

त्यसैगरी, कम्पनीले खरिदकर्ताबाट रकम नलिई बिक्रीकर्तालाई भुक्तानी गर्ने, राफसाफ तथा फछ्यौटसम्बन्धी विनियमावलीका प्रावधान पालना नगर्ने तथा कम्तीमा २५ प्रतिशत अग्रिम रकम नलिई सेयर खरिद गर्न दिने जस्ता गम्भीर त्रुटि गरेको बोर्डले जनाएको छ ।

उक्त कम्पनीको विवरणअनुसार लगानीकर्तालाई तिर्नुपर्ने दायित्व रकम करिब ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको छ । बिना भुक्तानी सेयर जम्मा गरिदिने जस्ता कार्यले पुँजी बजारमा नकारात्मक असर पार्ने र लगानीकर्तालाई जोखिममा पार्ने देखिएकाले यस्तो निर्णय गरिएको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले निलम्बन अवधिमा कम्पनीलाई कानुनी प्रावधानअनुसार लगानीकर्ताको बाँकी रकम फछ्यौट गर्न निर्देशन दिएको छ । साथै, उक्त कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्ताले अन्य धितोपत्र दलालमार्फत कारोबार गर्न चाहेमा आवश्यक प्राविधिक तथा प्रशासनिक सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।

Share News