काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधार आवश्यक रहेको औंल्याएको छ । नाडाको प्रतिनिधिमण्डलले राजस्व सचिव भूपाल बराल सँग भेट गरी अटोमोबाइल क्षेत्रका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरेको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले हाल शिथिल अवस्थामा रहेको अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन केही नीति तथा नियम संशोधन आवश्यक रहेको धारणा राखेको जनाएको छ । यस्ता सुधारबाट सरकारको राजस्व संकलन तथा रोजगारी सिर्जनामा समेत वृद्धि हुने विश्वास नाडाले व्यक्त गरेको छ ।
भेटका क्रममा राजस्व सचिव बरालले नाडाबाट प्राप्त सुझावहरू कार्यान्वयनयोग्य रहेको उल्लेख गर्दै उठाइएका विषयमा मन्त्रालय जानकार रहेको बताए ।
छलफलमा अटोमोबाइल उद्योग विस्तारका लागि कम्पोनेन्ट उद्योग स्थापना आवश्यक रहेको तथा त्यस्ता उद्योगलाई सरकारले प्रोत्साहन दिनुपर्ने माग राखिएको थियो । आवश्यक कच्चा पदार्थ आयातमा सहुलियत व्यवस्था गर्न सके रोजगारी वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने नाडाको भनाइ छ ।
नाडाले नेपालमै उत्पादन भइरहेका अटोमोबाइल सामग्रीको गुणस्तर परीक्षण गर्ने संयन्त्र अभावका कारण व्यवसायीहरूले समस्या भोगिरहेको समेत औंल्याएको छ ।
त्यस्तै, सवारी साधन खरिदसँग सम्बन्धित ऋण–मूल्य अनुपात (Loan to Value Ratio) पुनरावलोकन गर्नुपर्ने माग पनि राखिएको छ । यस्तो व्यवस्था सहज भए सवारी साधन बिक्री बढ्ने र त्यसबाट सरकारको राजस्वसमेत बढ्ने नाडाको तर्क छ ।
छलफलमा अटोमोबाइल क्षेत्रलाई अझै विलासिताको वस्तुका रूपमा वर्गीकरण गरिनु उपयुक्त नभएको भन्दै नीतिगत पुनर्विचार आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । साथै सीमावर्ती क्षेत्रमा चोरी पैठारी नियन्त्रण र कर संरचनामा समयानुकूल समायोजन गर्नुपर्ने विषय पनि उठाइएको थियो ।