काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द पाण्डेले पार्टीभित्र देखिएको वैचारिक अन्यौलप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई स्पष्ट वैचारिक लाइनमा फर्काउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक धारणा हुन नसक्ने उनको भनाइ छ । पाण्डेले एमालेको मूल मार्ग भनेको जनताको बहुदलीय जनवाद नै भएको जिकिर गरे ।
त्यसैगरी, उनले पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूले आफ्ना व्यक्तिगत अनुभव र दृष्टिकोण राख्न सक्ने भए पनि सार्वजनिक अभिव्यक्तिहरू पार्टीको आधिकारिक लाइनसँग मेल खानुपर्नेमा जोड दिए ।
पछिल्लो समय पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बोलेका विषयलाई लक्षित गर्दै पाण्डेले व्यक्तिगत विचारलाई पार्टी लाइनका रूपमा प्रस्तुत गर्दा कार्यकर्तामा भ्रम र जनतामा अविश्वास पैदा हुने खतरा बढ्नेतर्फ सचेत गराए ।
आजको आवश्यकता विगतको द्वन्द्वकालीन गौरवगाथा दोहोर्याउने नभई बरु शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत देशको आर्थिक रूपान्तरणमा केन्द्रित हुनु रहेको पाण्डेको भनाइ छ ।
एमालेको वैचारिक धरातल जबज नै भएको उल्लेख गर्दै उनले पार्टीलाई मौलिक र सुदृढ राख्न त्यसबाट विचलित हुन नहुने सन्देश पनि दिए ।