काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लिमिटेडले साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ३ अर्ब ४६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३५.७० प्रतिशत अर्थात् ८९ करोड ८० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब ५१ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
अस्पतालको आयमा वृद्धि हुनुमा स्वास्थ्य बीमा योजना पुनः सञ्चालन हुनु तथा यसका सहायक कम्पनी नोबेल क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सुरु हुनु प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । विशेषगरी प्रमुख चिकित्सा कार्यक्रमहरूमा उच्च भर्ना दर कायम रहनु र यस शैक्षिक वर्षदेखि एमबीबीएस सीट संख्या वृद्धिले पनि आम्दानी बढेको कम्पनीको भनाइ छ ।
कम्पनीले सन् २०२३ मा २ अर्ब २८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ९० करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ५० करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा २ अर्ब ३० करोड ६० लाख रुपैयाँ, सन् २०१८ मा १ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यस्तै, सन् २०१७ मा १ अर्ब ३४ करोड १० लाख रुपैयाँ र सन् २०१६ मा १ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
उक्त आम्दानी पूर्ण स्वामित्वमा रहेका सहायक कम्पनीहरू समेत समेटिएको कम्पनीले जनाएको छ । स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा निरन्तर प्रगति गर्दै आएको नोबेल मेडिकल सन् २००३ मा स्थापना भएको हो । कञ्चनबारी, विराटनगरमा अवस्थित यस संस्था काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी चिकित्सा तथा स्वास्थ्यसम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको छ ।
अस्पतालले हाल डीएम, एमसीएच, एमएस, एमडी, एमबीबीएस, बीडीएस, बीपीटी, बी.एस्सी. नर्सिङ तथा एमएलटी/बीएमएलटी जस्ता विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरूले देशमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
नोबेल मेडिकलले सेवा विस्तार गर्दै विभिन्न सहायक कम्पनीहरू सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत नोबेल क्यान्सर अस्पताल, नोबेल एड्भान्स्ड इन्भेस्टमेन्ट तथा नोबेल अस्पताल फार्मेसी पूर्ण स्वामित्वमा रहेका कम्पनीहरू हुन् । साथै, कम्पनीले काठमाडौँ मेडिकल कलेजमा करिब २० प्रतिशत लगानी गरेको छ ।
हाल अस्पतालमा ७७५ शैय्या सञ्चालनमा छन् । भारत–नेपाल सीमासँग नजिक रहेको कारण यहाँ ठूलो संख्यामा बिरामी आउने गरेका छन् । अस्पतालको औसत भर्ना दर सन् २०२५ मा करिब ७१ प्रतिशत रहेको छ भने सन् २०२४ मा ७५० शैय्यामा ७३ प्रतिशत थियो ।
नोबेल मेडिकल कलेजका अनुसार नेपालको स्वास्थ्य क्षेत्र अत्यन्त प्रतिस्पर्धात्मक बन्दै गएको छ । बिरामीहरूको रोजाइमा सेवा गुणस्तर, प्रतिष्ठा र पहुँच मुख्य कारक हुन् । पछिल्ला वर्षहरूमा सरकारी अस्पतालहरूको पूर्वाधार सुधार भएसँगै निजी अस्पताल तथा चिकित्सा कलेजहरूमा मूल्य दबाब बढेको जनाएको छ ।
नेपालमा चिकित्सा शिक्षासम्बन्धी नियामक चुनौतीहरू पनि कायमै छन् । शुल्क निर्धारणमा सीमित लचकता, कडा मापदण्ड र एमबीबीएस सीटको वार्षिक निर्धारणमा अनिश्चितता यसका प्रमुख पक्ष हुन् । एमबीबीएसका १० प्रतिशत सीट छात्रवृत्तिका लागि छुट्याइएका छन् भने ५७ प्रतिशत राष्ट्रिय सीटको शुल्क मेडिकल एजुकेशन कमिसनले निर्धारण गर्छ । विदेशी विद्यार्थीका लागि ३३ प्रतिशत सीटमा भने कलेजले केही लचकता अपनाएको छ, जहाँ भर्ना दर सन्तोषजनक रहेको छ ।
विदेशी विद्यार्थीहरूको पूर्ण भर्ना कायम रहनु कम्पनीको राजस्व र नाफाका लागि महत्वपूर्ण मानिन्छ । यसै शैक्षिक वर्षदेखि एमबीबीएस सीट संख्या १०० बाट १२० पुगेको छ, जसले आगामी वर्षहरूमा राजस्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ९२ करोड १० लाख रुपैयाँ दीर्घकालीन तथा ५७ करोड ९० लाख रुपैयाँ अल्पकालीन ऋण लिई कुल ५ अर्ब ५० करोड रुपैयाँ ऋण दायित्व वहन गरेको छ । यसअघि कम्पनीको कुल ऋण ४ अर्ब ५० करोड रुपैयाँ थियो ।
नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा मेडिकल एजुकेसन आयोगबाट मान्यता प्राप्त यस कलेजले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्नो शैक्षिक गुणस्तर कायम राख्दै आएको छ । यहाँ अन्तर्राष्ट्रिय रूपमा अनुभवी र दक्ष प्राध्यापकहरूको टोली कार्यरत रहेको छ, जसले चिकित्सा क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएका छन् ।