काठमाडौँ । केपी शर्मा ओली ले सरकारमाथि गम्भीर आरोप लगाउँदै आफूलाई पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन् । उनले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा हुनुपरेको बताए ।
रिहाइपछि सार्वजनिक धारणा राख्दै ओलीले आफ्नो पक्षमा आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। उनले परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति पनि सम्मान प्रकट गरेका छन् ।
प्रहरी नियन्त्रणका क्रममा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै उनले प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरे।
ओलीले आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्नेहरूमाथि भएको दमनप्रति आपत्ति जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग राख्दै राज्य उदासीन भए आफ्नो पार्टीले खर्च बेहोर्ने चेतावनीसमेत दिएका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी पनि उनले दिए ।