उपसभामुख : श्रम संस्कृति पार्टीलाई कांग्रेस–एमालेले साथ दिने, रास्वपा राप्रपातर्फ ढल्किने

रुबीकुमारी ठाकुर र सरस्वती लामा ।

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनलाई लिएर प्रमुख दलहरूबीच रोचक राजनीतिक समीकरण देखिएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । 

श्रम संस्कृति पार्टीले रुबी कुमारी ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरेको सांसद ध्रुव राईले जानकारी दिए ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने आफ्नै उम्मेदवार मैदानमा उतार्ने तयारी गरेको छ । 

राप्रपाका एक नेताका अनुसार समानुपातिकतर्फबाट निर्वाचित सांसद सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउने योजना पार्टीले बनाएको छ ।

हाल प्रतिनिधिसभाको सभामुख रास्वपाका नेता भएकाले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने हुन्छ । यही व्यवस्था अनुरूप दलहरूले आफ्नो रणनीति तय गरिरहेको कांग्रेस सांसद प्रकाशसिंह कार्कीले जानकारी दिए ।

Share News