कांग्रेसको पन्ध्रौं महाधिवेशन रोक्न सर्वोच्चमा पूरक रिट

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा देखिएको छ । पार्टीमा विशेष महाधिवेशन पक्षले अघि बढाएको १५औं महाधिवेशनको तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेसँगै पार्टीको विवाद सतहमा आएको हो ।

निवेदनमा रिटमार्फत विवाद समाधान नभएसम्म नयाँ कार्यतालिका कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ । निवेदक पक्षले पार्टीको आधिकारिकता, विधानअनुसारको प्रक्रिया र महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै अदालतको हस्तक्षेप माग गरेको जनाएको छ ।

कांग्रेसभित्र संस्थापन र असन्तुष्ट समूहबीच लामो समयदेखि जारी शक्ति संघर्षले महाधिवेशनको प्रक्रिया प्रभावित हुँदै आएको छ । पछिल्लो कदमसँगै आन्तरिक कचिंगल फेरि चर्किने संकेत देखिएको छ ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार यो नयाँ रिट नभएर पुरानै रिटको पूरक निवेदन हो । ‘निवेदक पक्षले निवेदन दिएको हामीले पेसीसूची हेरेर थाहा पायौं । तर हामीलाई सूचना आएको छैन,’ उनले भने ।

विशेष महाधिवेशन पक्षको नेतृत्वलाई कानुनी परामर्श दिइरहेको खनालले जानकारी दिए । 

निवेदक समूहले छुट्टै रिट नदिई यसअघि दर्ता भएको मुद्दामै पूरक निवेदन पेश गरेको उनले बताए । 

सो निवेदनमाथि कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुने तय भएको खनालले जानकारी दिए ।

Share News