नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतभन्दा प्रतिलिटर ६० रुपैयाँ महँगो

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतको तुलनामा ६० रुपैयाँ बढी देखिएको छ । शुक्रबारको मूल्य तुलना गर्दा नेपालमा पेट्रोल र डिजेल प्रतिलिटर औसतमा ६० रुपैयाँभन्दा बढी महँगो छ । 

आजको मूल्यअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २१६ रुपैयाँ ५० पैसादेखि २१९ रुपैयाँसम्म पुगेको छ । डिजेल २०४ रुपैया ५० पैसा देखि २०७ रुपैयाँमा बिक्री भइरहेको छ । 

भारतको राजधानी दिल्लीमा सोही अवधिमा पेट्रोल प्रतिलिटर ९४ रुपैया ७७ पैसा भारतीय रुपैयाँ र डिजेल ८७ रुपैया ६७ पैसामा उपलब्ध छ । जुन नेपाली रुपैयाँमा क्रमशः करिब १५१ र १४० रुपैयाँ पर्छ ।

यसरी तुलना गर्दा नेपालमा पेट्रोल प्रतिलिटर करिब ६५ रुपैयाँ र डिजेल ६४ रुपैयाँभन्दा बढी महँगो देखिन्छ । पेट्रोलियम आपूर्ति व्यवस्थापन गर्दै आएको नेपाल आयल निगमले हाल पेट्रोलमा प्रतिलिटर करिब १ रुपैयाँ र डिजेलमा ८४ रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेको जनाएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । यही घाटा समायोजन गर्न मूल्य बढाइएको उनको तर्क छ । 

ठाकुरका अनुसार भारतमा पेट्रोलियम पदार्थमा सरकारले व्यापक अनुदान दिने भएकोले सस्तोमा उपभोक्ताले खरिद गर्न पाएका हुन् । नेपालमा यो व्यवस्था नहुँदा महँगो परेको ठाकुरको भनाइ छ । 

आयल निगमका प्रवक्ता ठाकुरका अनुसार मूल्य समायोजनपछि पनि निगमले भारतीय आयल कर्पोरेसनसँग किनेका डिजेल काठमाडौं ल्याउँदा २९१ रुपैयाँ पर्छ ।

उच्च मूल्यका कारण सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । ढुवानीदेखि दैनिक उपभोग्य वस्तुसम्म मूल्यवृद्धिको चाप बढेको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा महँगो हुनुमा संरचनागत समस्या, एकाधिकार र नीति–निर्णय प्रमुख कारण देखिएको छ । 

विज्ञहरूका अनुसार दीर्घकालीन समाधानका लागि बजार संरचना पुनरावलोकन गर्दै प्रतिस्पर्धात्मक प्रणालीतर्फ अघि बढ्न आवश्यक देखिन्छ । बढ्दो मूल्य अन्तरसँगै पेट्रोलियम आयातमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बहस पनि तीव्र बनेको छ । 

विश्लेषकहरूका अनुसार प्रतिस्पर्धा अभावका कारण मूल्य नियन्त्रणमा आउन नसकेको हो । सरकारले भने ‘राष्ट्रिय सुरक्षा’ र आपूर्ति स्थायित्वको कारण देखाउँदै पेट्रोलियम आयातमा सरकारी नियन्त्रण कायम राख्दै आएको छ । 

Share News