शनिबारको दिन ।
नयाँ वर्ष आउन दुई दिन बाँकी थियो । यसअघि नै आएको अंग्रेजी नयाँ वर्षले उमङ्गभन्दा पीडा उपहार भित्र्याइसकेको थियो । नेपाली नयाँ वर्षसम्म आइपुग्दा यो उपहार झन्झन् भारी पर्दै गइरहेको थियो । चढ्दो गर्मी, बढ्दो हावाहुरी र उराठलाग्दो सुख्खापनका वीच पनि विरुवामा पालुवा लाग्दै कोमल हरियाली लिएर आएको वसन्तऋतुको मनोरम स्वाद थिएन । मानिसहरू कोरोना महामारीको डरले घरघरका चार दिवारमा थुनिएका थिए । सबैको संसार ठप्पजस्तै थियो । जताततै ‘लकडाउन’ भन्दै आऊजाऊ बन्द थियो ।
काठमाडौंसमेत देशभर सार्वजनिक यातायात बन्द थियो । बजार बन्द थियो । सडक सुनसान थिए । आकस्मिक बाहेकका सवारीसाधन ग्यारेज वा पार्किङमा धुलाम्मे भैरहेका थिए । हाम्रो पुस्ताकै अनौठो अनुभूति भैरहेको थियो । मानिसहरू ‘सोसल डिस्टेन्स’ भन्दै टाढैबाट बोलचाल गर्थे । बोल्दा पनि ‘भाइरस’ सर्छ भन्ने हल्लाले सबै त्रस्त थिए ।
डरले मानिसहरू असामाजिक जस्ता हुँदै गएका थिए । जापानबाट बिदा आएका एकजना काका ‘अर्जेन्ट’ फर्किनु पर्ने भएर बर्दियाबाट स्कार्पियो रिजर्भ गरेर काठमाडौं आए । विशेष चार्टर विमानमा उनी जस्तै धेरै बिदामा आएकाहरू जापान जाने व्यवस्था गरिएकाले उनी हतारमा यसरी फर्केका थिए । तर, उनलाई घर ल्याउन डर भयो । जापान गएका बेला झण्डै ३ सय किलोमिटर यात्रा गरेर टोकियोमा भेट्न आएका काकालाई मैले फोनबाटै काठमाडौंमा एअरपोर्ट नजिकको होटल व्यवस्था गरिदिएँ । धन्न रिस्क लिएरै भए पनि कहीँकतै होटलहरूले सेवा दिइरहेका थिए । घर बोलाउन सकिनँ, लामो यात्रा गरेका हुनाले भेट्न जान पनि डराएँ । उनी त्यतैबाट जापान उडे ।
तरकारी किनेर झण्डै ४८ घण्टा घरको भुइँतलाको भर्याङमुनि ‘क्वारेन्टिन’मा राखेर मात्र भान्सामा ल्याउने गरेका थियौं । तरबुजाको सिजन थियो । ‘ह्याण्डवास’ले मज्जाले धोएर मात्र फ्रिजमा राख्ने गरेका थियौं ।
यस्तो कहरका बेला त्यस दिन बिहान अचम्मै भयो । जडीबुटी मिसिएको चिया खाँदै छतबाट बाटोतिर हेर्दै थिएँ । छिमेकमा फर्निचर उद्योग खोलेका रामविनयले खसीको मासु खाने मान्छेको नाम टिप्दै पैसा उठाउँदै हिँडिरहेका थिए । धापासीको डाँफेकोलोनीको यो दृष्य सहरको चरित्रभन्दा बिलकुल भिन्न थियो । यो चित्र त कहीँकतै मैले बिताएको बाल्यकालसँग दुरुस्त मिल्यो ।
म त गाउँका ती दिनको यादमा पुगेँ, जतिबेला एउटा खसी काट्न गाउँमा कि दशैं कि नयाँ वर्ष आउनु पर्दथ्यो । चाडबाडका बेला मासुको भाग पाउन गाह्रो हुन्थ्यो, अघिपछि खसी काट्न खोज्दा भाग पुर्याउन गाह्रो हुन्थ्यो । खाने मन हुनेबित्तिकै खसीको मासु ५० को दशकतिरका गाउँले हाम्रो भाग्यमा थिएन ।
कमलो मन भएको मैले खसी काटेको र शव बोकेका मलामी लस्कर कहिल्यै हेर्न सकिनँ । किन हो कुन्नि, हाम्रो घरको आँगनमा कहिल्यै एकै मारमा खसी छिनिएन । वुवालाई मार हान्न आउन्न होला भन्ठान्थें तर गाउँमा मार हान्न नामुद छिमेकी तर्क बाबुसाहबले पनि हाम्रो आँगनमा खसी छिनाल्न सकेनन् ।
गाउँमा खसी काट्दा कति रमाइलो हुन्थ्यो । टोलभरीका बाजे, काका, दाइ, फुफाज्यु, मामा सबै जुट्थे । कसैले खरानी पानी तताउँथे । कसैले खुकुरी धार लाउँथे । कसैले भुत्ला ताछ्न पुराना ‘टोपाज ब्लेड’ जुटाउँथे । खसी भुत्ल्याइसकेपछि कसैले बेसार लगाउँथे । मासु भाग लाउनका लागि भुइँमा ओच्छ्याउने प्लास्टिक, बोरा जुटाउने जिम्मा कसैको हुन्थ्यो । अनि काठका अचाना लगायत सरजाम जुटाउन पनि जिम्मा लिनेलाई धौ–धौ हुन्थ्यो । आजकल सहरतिर भुटन भन्छन्, गाउँमा भुँडी पखाल्ने भाग टोलका सबै भन्दा कान्छाहरूको हुन्थ्यो । वर्षमा एकदुई पल्ट मात्रै खसी काट्ने मेसो पर्ने भएकाले यतिविधि धामा हुन्थ्यो । सबै मिलेर उत्साहका साथ फत्ते गर्नुको स्वाद भने बेग्लै हुन्थ्यो ।
बोसो र भुँडी अड्कलेर सुन जोखे जसरी भाग लाउँथे । खसीको बोसो धेरै निस्क्यो भने खसी धनीको चर्चा हुन्थ्यो । क्या स्याहार गरेर हुर्काएको रहेछ भनेर प्रशंसामा सबैजसोले एकदुई शब्द खर्चिन्थे । मासु गज्जव छ आजको भनेर सबै फुरुङ्ग हुन्थे । दुब्लो खसी पर्यो वा बोसो कम देखियो भने खसी धनीको बिल्ला लाउँथे । स्याहार–सुसार पुगेन भन्थे वा खसी रोगी रैछ कि भनेर आशंका उठाउँथे ।
उता एउटा टीम रक्ती बनाउन जुटेको हुन्थ्यो । आलो रगत, अलिअलि कलेजो, बोसे आन्द्रा, फोक्सोको टुक्रा र गर्धनको अघिल्लो भाग लगायत मिसाएर बनाएको रक्तुवा आहा ...कति मिठो हुन्थ्यो । फर्सीका पातमा भाग समाएर खानुको मज्जा अहिले सम्झिँदा नि मुख रसाउँछ । टोलका सबैले मिलेर तयार पारेको सौहाद्र्धताको पोको थोरै भए नि त्यसको स्वाद बिछट्टको हुन्थ्यो । सामूहिक ममता मिसिएको हुन्थ्यो । समाज त्यही फर्सीको पातमा जोडिएको हुन्थ्यो । खसी एउटा महान बहाना थियो कि जस्तो लाग्छ अचेल सम्झँदा ।
खसीको एउटा कुन अङ्गलाई बीचमा चिरेर भाँगो मिसाएर पोल्थे । भाँगोलाई सहरतिर गाँजा भन्छन् । त्यो ठूलाहरूले अलिअलि बाँडेर खाएको झलझली याद छ । छोक्रा भनिने त्यो पोलेको मासुको टुक्रा हामी केटाकेटीलाई चाहिँ कहिले पनि खान दिँदैन थिए । केटाकेटीले खाए हाँसेको हाँस्यै हुन्छन्, खानु हुन्न भन्थे ।
सबै मिलेर काटकुट पारी किलोका भाग तयार पारिन्थ्यो । एक किलोमा तीन भाग पाइन्थ्यो । एक भाग मासु, एक भाग बोसो अनि एक भाग भुँडी हुन्थ्यो । मासु लिन सबैले आफ्ना–आफ्ना घरबाट थाल वा अरू भाँडा लिएर आउँथे । अहिले जस्तो फालाफाल प्लाष्टिकका झोला पुगेको थिएन गाउँमा । थालमा एक भाग मासु लिएर घर आएसी बुवाले त्यसलाई ससाना टुक्रा पार्ने, आँखा नदेखे नि बाजेले लसुन छोडाउने अनि आमाले आँगनको सिलौटोमा जीरामसला, खुर्सानी, अदुवा र लसुन पिस्ने गरेको याद अहिलेसम्म उस्तै सम्झनामा छ ।
हामी केटाकेटी कतिखेर मासु पाक्ला र खाउँला भनेर मुख बाउँदै पर्खिँदा पर्खिँदा हैरान हुन्थ्यौं । केही टुक्रा आगोको गोलमा हालेर पोलेर खान दिन्थिन् आमाले । कस्तो मीठो हुन्थ्यो आमाले त्यसबेला तात्तातै हातमा हालिदिने त्यो चुल्होमा पोलेको मासु । त्यसको स्वाद अहिले पनि अनुपम स्मरणमा आउँछ ।
गाउँमा यसरी खसीको मासु काट्दा महत्त्वका साथ बोसोको भाग लाएको देखेर हुर्किएको मेरा लागि यो विशेष लाग्ने नै भयो । बोसोको महिमा सुन्दासुन्दै खसीको मासुमध्ये यो सबैभन्दा ‘भाउ’ भएको लाग्थ्यो ।
गाउँमा बुवाआमाको मुख्य पेशा खेती–किसानी थियो । आफूलाई खानका लागि छुट्याएर बढी हुने उत्पादन नजिकको बजारमा बेचेर नगद आम्दानी गरिन्थ्यो । घरबाट कमैया र किसानहरू लडियाका लस्कर लाएर बाली बेच्न निस्कन्थे । साँझ विभिन्न गाउँबाट निस्केका लडियाहरू बिहान मात्रै राजापुर बजारमा लावालस्कर जसरी पुग्थे ।
राँगा, गोरुले तान्ने लडिया गाउँका एकमात्र मालवाहक सवारीसाधन थिए त्यसबेला । केही धनीमानीका घरमा ट्याक्टर हुन्थे तर बाटो राम्रो नहुँदा ती भरपर्दा थिएनन् । बुवासँग जिद्दी गरेर म पनि बेलाबेलामा लडिया चढेर किसानहरू सँगै राजापुर जान्थेँ । रातभरि आकाशका तारा हेर्दै लडियामा उत्तानो परेर आकाशतिर फर्केर गरेका ती यात्राका दिन जीवनका अनमोल क्षण लाग्छन् ।
लडियाको लस्कर बिहान झिसमिसेसम्म राजापुर बजार पुगिसक्थ्यो । राजापुरमा सिजनका बाली खरिद गरेर व्यापारीहरूले अन्नका रास घरजत्रा बनाएका देखिन्थे । गाउँगाउँबाट आएका किसानहरू ठाउँठाउँमा लडिया रोकेर कोही खाना पकाउने, कोही बजार डुल्ने, कोही पशुको स्याहार गरिरहेका देखिन्थे ।
बुवाहरू बिहान साइकलमा आइपुग्थे । खानाको तारतम्य गरिरहेका किसानहरू बुवा आइपुग्नेबित्तिकै भन्थे –‘मलिक्वा शिकार त खाइ परल जे ।’ सधैंजसो वुवा भन्थे – ‘ल ल लिएर आम्ला । तयारी गर ।’ बजारमा खसी, राँगा वा सुगुँरको मासु बढी पाइन्थ्यो त्यसबेला । कहीँकतै लोकल कुखुरा पाइन्थ्यो । ब्रोइलर कुखुराको चलनै थिएन सायद ।
गाउँमा लोकल कुखुरा बढी भएर वेच्ने गरेका हाम्रा लागि त्यो महत्त्वको हुने कुरै भएन । खसीको मासु दशैं, नयाँ वर्षजस्ता विशेष अवसरमा मात्र तौलअनुसार भाग पुगेसी काटिने भएकाले खसीको मासु खान जुरेको मौका झन् छोड्ने कुरै भएन । मासु किन्न जाँदा बुवा.सँगै म पनि साइकलको पछाडि चढिहाल्थेँ । मासु बेच्ने ठाउँमा प्रायः गाउँबाट बाली बेच्न आएका किसान पालोमा देखिन्थे । मासु बेच्ने पसलमा प्राय मुसलमान समुदायका मानिस हुन्थे । मासु काटमार गरेर बेच्नेलाई बुचर भाई भन्दै ग्राहकले पुकारेको सुनिन्थ्यो ।
गाउँमा खसी काट्दा मासुको भाग जति छ उत्तिनै बोसोको भाग लागेको देखेको मेरा लागि पहिलो पल्ट सहरमा त अचम्मैको दृष्य देखियो । मासु काट्ने बुचरलाई ‘चर्बी हटा चर्बी हटा’ भन्दै मासु किन्नेले बोसो फाल्न भनिरहेका थिए । वुवाहरूले पनि बजारियाले जस्तै गरी खसीको मासु किन्न जाँदा जहिले पनि चर्बी हटा भन्दै बोसो फाल्न लगाउँथे । मलाई भने बोसो फालेकोमा खुबै लोभ लाग्थ्यो ।
अचेल हामी पनि बोसो नराख्नूस् भन्दै सहरमा झर्किन्छौं । गाउँमा भाग लागेर आएको बोसो झोल मासुको भागमा पर्दा कस्तो स्वादले खाइन्थ्यो । अचेल सहरमा त साह्रै हेपिन्छ बोसो । सकेसम्म कसैले लानै मान्दैनन् । मासु पसलेले यसो तौल मिलाउन झुक्याएर हाले मात्रै हो ।
खसीको मासु जोहो गर्न कति धेरै गाउँका छिमेकी जुट्थे गाउँमा । अन्दाज गरेको खसीको भाग उठ्ने सुनिश्चित नभएसम्म मार हानिन्नथ्यो । भाग नउठे मासु खाने कार्यक्रम क्यान्सिल हुन्थ्यो । अहिले त बजार गयो, मन लागेका टुक्रा हाल्न भन्यो, ल्यायो, पकायो खायो । त्यसबेलाको जस्तो अनमोल ‘मोल’ कहाँ रह्यो र ? खसी खोज्ने, भाग जुटाउने, काट्ने, विलो लाउने, रक्ती बनाउने, पैसा उठाउने, रक्ती बाँडेर खाने कस्तरी सिँगो समाज एक भएर खसीको मासुमा जोडिएको थियो ।
के त्यो खसीको मासु खाने मात्रै मेलो थियो होला त ? सबै सँगै जुट्ने, दुःखसुखका कुरा गर्ने, जिस्कने, खाने, रमाइलो गर्ने अवसर पनि थियो त्यो । अघिपछि आ–आफ्नो काममा हराउनेहरू सामूहिक सुस्केरामा जोडिने मेसो पनि थियो । समाज जोड्ने कतिकति भाउँता थिए त्यस बेला । यो पनि तिनैमध्ये एक थियो सायद ।
काठमाडौंको धापासीमा घर बनाएर सरेको तीन वर्षजस्तो भएको थियो । तर, छिमेकीहरू सँग खासै उठबस थिएन । अलिकति नेपालगञ्ज र काठमाडौं हिँडिरहने भएर होला, अलिकति मेरो स्वभावले होला अनि त्योभन्दा बढी यो सहरी समाजका कारणले होला । त्यस दिन गाउँमा जसरी ती भारतबाट यता आएर फर्निचरमा सपना सजाइरहेका रामनिवास सँगै केही मानिस टोलमा हिँडेको देखेर मलाई मेरो बाल्यकालको रिल फनफनी रिवाइण्ड गरिदिएको थियो ।