काठमाडौं । सरकारले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा प्रयोग भइरहेका ठूला स्वास्थ्य उपकरणहरूको गुणस्तर र विकिरण सुरक्षाको अवस्थाबारे विस्तृत अध्ययन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाले वीर अस्पतालका विशेषज्ञहरू सम्मिलित एक टोलीलाई देशभरका अस्पतालमा रहेका उपकरणहरूको अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले मेडिकल फिजिसिष्ट डा. कञ्चनप्रसाद अधिकारी र रेडियोलोजिष्ट डा. हरिओम जोशीलाई अध्ययन र स्थलगत अनुगमनको जिम्मेवारी तोकेको छ ।
२०८२ चैत २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गठित यो टोलीलाई १० दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ ।
मन्त्रालयले विशेषगरी अस्पतालहरूमा जडान गरिएका एमआरआई (एमआरआई), सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान लगायतका मेसिनहरूको प्रयोग र तिनको गुणस्तरको वर्तमान अवस्थाबारे जानकारी माग गरेको हो ।
यसका साथै विकिरणको क्षेत्रमा काम गर्ने प्राविधिक कर्मचारीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ।
कर्मचारीहरूले पर्सनल रेडिएसन डोज मनिटर प्रयोग गरे/नगरेको र ती उपकरणहरूको नियमित परीक्षण भए/नभएको बारे पनि अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।