स्वास्थ्यमन्त्री मेहताले गरिन् वीर र शहीद गंगालालको आकस्मिक अनुगमन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् ।

अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै पूर्वजानकारी बिना नै अस्पताल पुगेकी हुन् ।

अनुगमनका क्रममा उनले अस्पतालको सरसफाइ, बिरामीको चाप र लामा लाइन, औषधी अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गरेकी थिइन् ।

अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौं कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गरिन् । 

अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तुरुन्त निर्देशन दिँदै उनले अस्पतालको सरसफाइमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिइन् ।

‘जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,’ भन्दै उनले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन् ।

null

Share News