डा. तेजेन्द्र कार्की बिम्स्टेक रेडियोलोजी स्थायी समितिको अध्यक्षमा निर्वाचित

काठमाडौं । बिम्स्टेकको संरचनाभित्र क्षेत्रीय रेडियोलोजी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित काठमाडौंमा आयोजित रेडकन २०२६ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय रेडियोलोजिस्ट, विशेषज्ञ तथा क्षेत्रीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न यस सम्मेलनलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

सम्मेलनको सुरुवात भव्य तथा सांस्कृतिक वातावरणमा गरिएको थियो । धिमे बाजा, मारुनी र लाखे नृत्यजस्ता परम्परागत प्रस्तुतिमार्फत अतिथिहरूको स्वागत गरिएको थियो, जसले कार्यक्रमलाई उत्सवमय र गरिमामय बनाएको थियो । कार्यक्रमको नेतृत्व आयोजक अध्यक्ष डा. तेजेन्द्र कार्कीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका र थाइल्याण्डका राष्ट्रिय गान बजाई क्षेत्रीय एकताको सन्देश दिइएको थियो । त्यसपछि प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूले दियो प्रज्वलन गरी सम्मेलनको औपचारिक उद्घाटन गरेका थिए ।

सम्मेलनका क्रममा रेडियोलोजी क्षेत्रमा ज्ञान आदानप्रदान, अनुसन्धान विस्तार तथा आधुनिक प्रविधिको प्रयोगबारे विस्तृत छलफल भएको थियो । वैज्ञानिक सत्रहरू, कार्यशाला तथा विशेषज्ञ प्रस्तुतिहरूले सहभागीहरूलाई नयाँ अनुभव र सिकाइ प्रदान गरेको आयोजकहरूले जनाएका छन् ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात वक्ताहरू डा. भाविन जङ्खारिया, डा. सञ्जय सरन बैजल र डा. हृदेश साहनीलाई सम्मान गरिएको थियो । साथै, डा. सुदीप केसीलाई एनआरए फेलोसिप अनुदान प्रदान गरिएको थियो, जसले अनुसन्धान र उत्कृष्टतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

यसै अवसरमा प्रसूति अल्ट्रासाउन्डसम्बन्धी मापदण्ड निर्देशिका, एनआरए वार्षिक क्यालेन्डर २०८३ तथा एनआरएको युट्युब च्यानल सार्वजनिक गरिएको थियो, जसले डिजिटल माध्यममार्फत ज्ञान विस्तार गर्ने प्रयासलाई बल पुर्याएको छ ।

बिम्स्टेक सहकार्य अन्तर्गत डा. तेजेन्द्र कार्कीलाई बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्षका निर्वाचित गर्दै उनलाई  सम्मान समेत गरिएको थियो । सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै, आगामी आयोजक राष्ट्र भारतलाई बिम्स्टेक झण्डा हस्तान्तरण गरिएको छ । बिम्स्टेक राष्ट्र भन्नाले बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड गरी सात देशहरू पर्दछन् । यी देशहरू बङ्गालको खाडी क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने उद्देश्यले गठन गरिएको बिम्स्टेक संगठनका सदस्य राष्ट्रहरू हुन्, जसले व्यापार, प्रविधि, ऊर्जा, स्वास्थ्य तथा क्षेत्रीय विकास जस्ता विविध क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

रेडियोलोजीको सन्दर्भमा बिम्स्टेक राष्ट्रका प्रतिनिधिहरूले चिकित्सा इमेजिङ, डायग्नोस्टिक प्रविधि, अनुसन्धान र क्लिनिकल अभ्यासमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले आधुनिक रेडियोलोजिकल प्रविधिको उपयोग, दक्षता अभिवृद्धि, र ज्ञान तथा अनुभवको प्रभावकारी आदान–प्रदानमार्फत रोग निदान सेवाको गुणस्तर सुधार गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रमको समापन आयोजक सचिव डा. सरोजराज केसीले धन्यवाद ज्ञापन गर्दै गरेका थिए । समापनपछि सहभागीहरूबीच सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजमार्फत आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाइएको थियो ।

रेडकन २०२६ ले क्षेत्रीय रेडियोलोजी अभ्यासलाई नयाँ दिशा दिँदै सहकार्य, अनुसन्धान र ज्ञान आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ छ ।  

Share News