मन्त्रीहरूलाई नयाँ मोबाइल दिने कुरा झूटो हो, भ्रममा नपरौं: सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचना सत्य हो कि होइन छुट्याउन नागरिक सचेत हुनुपर्ने बताएका छन् । 

पछिल्लो समय सरकारले सबै मन्त्रीलाई नयाँ मोबाइल फोन दिने तयारी गरिरहेको भन्ने आशयमा फैलिएका विषय पूर्ण रूपमा झूटो र बनावटी रहेको उनले स्पष्ट पारे ।

आइतबार बिहान नुवाकोटको लिखु गाउँपालिका-६ छहरे बजारमा स्थानीयसँग भेटघाट गर्दै मन्त्री तिमिल्सिनाले यस्ता गलत सूचना सरकारप्रति अनावश्यक अविश्वास फैलाउने नियतले आएका हुन सक्ने पनि बताए । केही व्यक्तिले जानाजानी भ्रम फैलाएको हुनसक्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सन्जालमा कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोत जाँच गर्न सबैलाई आग्रह गरे । 

उनले सरकार जनताको करबाट उठेको पैसाको सही प्रयोग गर्न प्रतिबद्ध रहेको बताउँदै दुरुपयोग देखिए नागरिकले प्रश्न उठाउनुपर्ने पनि बताए । 

‘सत्यमा आधारित प्रश्नले सरकारलाई थप जवाफदेही बनाउँछ । हामी जिम्मेवार भएर खबरदारी गर्न र प्रश्न गर्न छाड्न हुँदैन, उनले भने, ‘तर खराब नियतले गलत सूचना सम्प्रेषण भएको छ भने त्यसलाई पहिचान गर्न आवस्यक छ ।’

अहिले सरकार भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलताको नीतिमा अघि बढेको पनि उनले बताए । सञ्चारमन्त्री तिमिल्सिनाले अब बोल्नेभन्दा काम गरेर देखाउने समय आएको उल्लेख गर्दै परिणाममुखी काममा जोड दिइने बताए । 

सरकारले गाउँ-गाउँमा पुगेर नागरिकको समस्या सुन्ने र त्यसकै आधारमा नीति बनाउने योजना रहेको उनको भनाइ छ । 

Share News