काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग (ईपीएस कोरिया शाखा)ले आफ्नो कोषमा रहेको ७६ करोड रुपैयाँ एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरूलाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर शिलबन्दी प्रस्ताव पेश गर्न विभागले आग्रह गरेको हो । वैशाख १५ गतेसम्म बोलपत्र प्रस्ताव पेश गर्नुपर्नेछ ।
प्रस्ताव पेश गर्ने बैंकहरूले निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको लगायतका सर्त तोकिएको छ ।
त्यस्तै, बैंकले हालसम्म समस्याग्रस्त घोषणा नभएको वा भएमा कम्तीमा ६ महिना अघि फुकुवा भएको हुनुपर्ने, सञ्चालन मुनाफामा रहेको तथा राष्ट्र बैंकको मापदण्डभित्र रहेर सञ्चालन भएको हुनुपर्ने सर्त पनि राखिएको छ ।
एकभन्दा बढी बैंकबाट प्रस्ताव प्राप्त भएमा सबैभन्दा उच्च ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकताका आधारमा छनोट गरिने विभागले जनाएको छ ।