काठमाडौं । समाज कल्याण परिषदले नेपाल पत्रकार महासंघ, रिपोर्टर्स क्लब नेपाल लगायत १८ जना व्यक्ति तथा संस्थालाई ७ दिनभित्र बक्यौता बुझाउन ताकेता गरेको छ । समाज कल्याण परिषदले भृकुटीमण्डप क्षेत्रमा रहेका स्टल, भवन तथा संरचना भाडामा लिएर प्रयोग गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई बक्यौता भाडा बुझाउन पुनः ७ दिनको अन्तिम म्याद दिएको हो ।
यसअघि परिषदले २०८२ चैत ३० गते तालाबन्दी गरी वैशाख १ गते ७ दिने म्यादसहित सूचना प्रकाशित गरेको थियो । उक्त अवधिमा केही व्यवसायी तथा संस्थाले आंशिक रकम बुझाए पनि अधिकांशले अझै भाडा नतिरेको परिषदले जनाएको छ ।
परिषदका अनुसार अब थपिएको ७ दिनभित्र पनि बक्यौता नबुझाएमा प्रचलित कानूनअनुसार असुलउपर तथा अन्य कानुनी कारबाही अघि बढाइनेछ ।
बक्यौता नतिर्ने सूचीमा उपभोक्ता मंच नेपाल, नेपाल पत्रकार महासंघ, रिपोर्टर्स क्लब नेपाल, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज, नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय अपाङ्ग महासंघलगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरू रहेका छन् ।
परिषदका अनुसार उपभोक्ता मंच नेपालको ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजको १४ लाख ६१ हजार ३७० रुपैयाँ, नेपाल पत्रकार महासंघको ३३ लाख ७ हजार ४२१ रुपैयाँ बक्यौता रहेको छ ।
यस्तै, मनकला श्रेष्ठको ३ लाख ८२ हजार ४०३ रुपैयाँ, टीकाराम सिटौलाको ११ लाख ८० हजार ६२५ रुपैयाँ, कृष्णप्रसाद लामिछानेको ५ लाख ९८ हजार १६३ रुपैयाँ, रिपोर्टर्स क्लब नेपालको ६३ लाख ४० हजार ९०१ रुपैयाँ, सेन्थेसिस एक्जिविसन एण्ड इभेन्ट्सको ११ लाख २७ हजार १२१ रुपैयाँ बक्यौता रहेको छ ।
काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २ करोड ९० लाख २३ हजार ३७६ रुपैयाँ, हरि अमात्यको ५ लाख १५ हजार ६६४ रुपैयाँ, बुद्धिराम भुसालको ६ लाख ८७ हजार ७३४ रुपैयाँ, नेपाल फोटो पत्रकार महासंघको २० लाख ६७ हजार ६७२ रुपैयाँ, नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चको २१ लाख ८५ हजार ९५७ रुपैयाँ, राष्ट्रिय अपाङ्ग महासंघको १ करोड १६ लाख ३२ हजार २७ रुपैयाँ बक्यौता रहेको छ ।
यस्तै, बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालको ८९ लाख ९० हजार ७६४ रुपैयाँ, यशोदा कुमारी सेठीको १० लाख १९ हजार १५६ रुपैयाँ, चित्रबहादुर पण्डित क्षेत्रीको १ लाख ४१ हजार ५७३ रुपैयाँ र मञ्जु तिमिल्सिनाको ८ लाख ७ हजार ७१० रुपैयाँ उठ्न बाँकी रहेको परिषदले जनाएको छ ।
