काठमाडौं । एक महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्त्वमा बनेको सरकारका दुई मन्त्री पदमुक्त भएका छन् । सरकार बनेको २६ औं दिनमै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।
बुधबार (आज) गृहमन्त्री सुधन गुरुङले राजीनामा दिए । विवादमा तानिएपछि उनले राजीनामा दिएका हुन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा पक्राउ परेका विचौलिया दीपक भट्टसँग उनको व्यवसायिक कनेक्सन भएको देखिएपछि गृहमन्त्री गुरुङ प्रश्नको घेरामा आएका हुन् ।
मन्त्री गुरुङले स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा भट्टसँगै लगानी गरेको देखिएको छ । उनीसँगै सुलभ अग्रवालको पनि उक्त कम्पनीमा साझेदारी देखिन्छ । भट्ट र अग्रवाल नै अहिले सम्पत्ति शुद्धीकरणको अनुसन्धान क्रममा हिरासतमा छन् ।
स्टार माइक्रो इन्स्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९ औं नम्बरमा उनको नाम समावेश छ । उनले उक्त कम्पनीमा २५ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । तर, सम्पत्ति विवरणमा भने उनले सो लागनीबारे खुलाएका छैनन् ।
सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक अभियन्ताको सम्पत्ति अस्वाभाविक भन्दै उनको चौतर्फी आलोचना भएको थियो । मन्त्री गुरुङको नाम फेवाताल जग्गा प्रकरणमा जोडिएको थियो ।
यसअघि सरकार गठन भएको १४ दिनमै श्रम, रोजगार तथा सामाजिकमन्त्री दीपक शाहले राजीनामा दिएका थिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साहलाई रास्वपाका सभापति रवि लामिछानेले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।
साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको विषय उठाइएको थियो ।
त्यसैगरी, सोही प्रकरणसँग जोडिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत आवश्यक जिम्मेवारी निर्वाहमा गम्भीरता नदेखाएको भन्दै सचेत गराउन सिफारिस गरिएको थियो ।
प्रधानमन्त्री शाहले उक्त सिफारिसअनुसार मन्त्री मेहतालाई सचेत गराएका थिए भने मन्त्री साहलाई पदमुक्त गरेका थिए ।