काठमाडौं । नेपाली सेनाले आमनागरिकमा भ्रामक सामग्रीहरू प्रसारण नगर्न अनुरोध गरेको छ ।
शुक्रबार सेनाले अपिल जारी गर्दै कपोकल्पित सामग्रीहरूले आमनागरिकमा भ्रम सृजना गर्ने हुँदा त्यस्ता भ्रामक सामग्रीहरू प्रसारण नगर्न अनुरोध गरेको छ ।
विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसारण भएका तथ्यहीन सूचना एवं अभिव्यक्तिप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सेनाले उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनको दायरामा ल्याइने बताएको छ ।
आम जनमानसमा यस किसिमका आधारहीन र द्वेषपूर्ण समाचार तथा टिका-टिप्पणीहरूलाई विश्वास नगर्न सेनाले अनुरोध गरेको छ ।
आधिकारिक सूचनाको लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र वेबसाइटमा सम्प्रेषण गरिएका सूचनाका साथै जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।
