सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौं । काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

गोपाल रनपहलीसहित ११ जनाले सुकुम्वासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरूद्ध रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए  ।

काठमाडौंका नदी किनाराका सुकुम्वासी बस्ती आज बेलुका ७ः०० बजेसम्ममा खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले सूचना जारी गरिसकेका छन् ।

रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशैभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबर्जस्ती कारबाही नगर्नु/नगराउनु भनिएको छ । 

Share News