काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको छ । यसका लागि केन्द्रीय संयोजन समितिको बैठक बसिरहेको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए ।
सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक कार्यविभाजनलाई लिएर देखिएको विवादका कारण स्थगित गरिएको थियो । केही शीर्ष नेताहरूबीच विभागीय जिम्मेवारीमा असहमति देखिएपछि थप गृहकार्य गरेर पुनः बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरिएको एक नेताले जानकारी दिए ।
यसैबीच, बैठकले पार्टीको एकता महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका पनि अनुमोदन गरिसकेको छ ।
यस्तो छ प्रस्तावित कार्यविभाजन
पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरूप नेताहरूको कार्यविभाजनको प्रस्ताव तयार पारिएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । बैठकमा प्रस्तुत गरीएको प्रतावमा पुष्पकमल दाहाललाई संयोजकसहित सम्पूर्ण पार्टी कार्यको समन्वय गर्ने जिम्मा दिइएको बताइएको छ।
माधवकुमार नेपालले सहसंयोजक जिम्मेवारी पाउदा झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मा पाएका छन् । खनाल उक्त जिम्मेवारीप्रति सन्तुष्ट नभएको बैठकमा रहेका एक नेताले जानकारी दिए । खनालले संगठन या विदेश विभागको अपेक्षा गरेका थिए ।
संगठन विभागको जिम्मेवारीको अपेक्षा अर्का नेता वामदेव गौतमले पनि गरेका थिए । तर जिम्मा वर्षमान पुनलाई दिएर गौतमलाई उत्पादन तथा रोजगारी विभागको जिम्मा दिने तयारी भइरहेको छ ।
पाँचौं वरीयताका नेता नारायणकाजी श्रेष्ठलाई अनुगमन तथा मूल्यांकन विभागको प्रस्ताव गरीएको छ । अग्नि सापकोटा, गंगानारायण श्रेष्ठलाई क्रमश स्थानिय तह र सास्कृतिक विभागको जिम्मेवारी दिने तयारी गरिएको ती नेताले जानकारी दिए ।
पछिल्लो समय भेपमा सुन तस्करीको आरोपमा मुद्दा खेपिरहेका कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभागको जिम्मा दिने तयारी रहेको छ ।
डा. गंगालाल तुलाधारले बागमती प्रदेशको इन्चार्जको जिम्मा पाउने प्रस्ताव हुँदा गिरिराजमणि पोखरेललाई शिक्षा विभाग र गोपाल किरातीलाई नीति अनुसन्धान प्रतिष्ठानको उपप्रमुख भएर रहनेछन् ।
आजको बैठकमा ४५ जना वरिष्ठ नेताहरूको कार्य विभाजन टुंगो लगाउने गरी छलफल भइरहेको छ ।