इरानी विदेशमन्त्री अराघची किन पुगे चीन ?

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन् ।

इरानी समाचार एजेन्सी तस्नीम र फार्सका अनुसार अराघचीले चीनका विदेशमन्त्रीसँग वार्ता गर्नेछन् ।

यस भ्रमणको उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय र वैश्विक परिस्थितिमा भइरहेका घटनाक्रमबारे छलफल गर्नु रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एसोसिएटेड प्रेसका अनुसार अमेरिका र इसरायलतर्फबाट इरानविरुद्ध युद्ध सुरु भएपछि इरानी विदेशमन्त्रीको चीन भ्रमण यो पहिलो हो ।

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र इरानी तेलको प्रमुख खरिदकर्ता हो । उसले अमेरिकाले लगाएका प्रतिबन्धहरूको बाबजुद पनि इरानी तेल खरिद जारी राखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १४ र १५ मेमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न चीन जाने कार्यक्रम रहेको छ । त्योभन्दा अगाडि नै अराघची चीनको भ्रमणमा निस्किएका हुन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग अराघचीमाथि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण अन्त्य गर्न दबाब दिन अनुरोध गरेका छन् ।

Share News