ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल एफएनसीसीआईको सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगत संघतर्फ केन्द्रीय कार्यकारिणी सदस्यमा सागर ढकाल विजयी भएका छन् ।

महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमा ढकालले ६८ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका हुन् । वस्तुगत समूहबाट उनी दोस्रो उच्च मत प्राप्त गर्ने उम्मेदवारसमेत हुन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका ढकालले वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

निर्वाचित भएसँगै उनले देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताए । उनका अनुसार वस्तुगत संघअन्तर्गत रहेका विभिन्न कानुनी तथा व्यवहारिक समस्याहरू समाधानका लागि महासंघमार्फत सरकारसँग समन्वय, बहस र नीतिगत पहल गरिनेछ ।

ढकालले नेपालको पुँज िबजारलाई सशक्त बनाउनेतर्फ पनि आफू केन्द्रित हुने बताए । उनका अनुसार हाल ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन आवश्यक छ।

‘नेपालको पुँजी बजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा पुगेको छ । अब यसलाई केवल बजारको सीमाभित्र राख्ने होइन, समग्र अर्थतन्त्रको प्रतिबिम्बका रूपमा विकास गर्नुपर्छ,’ उनले भने ।

ढकाल पूँजी बजारसँगै जलविद्युत्, होटल तथा पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि सक्रिय रूपमा आबद्ध छन् ।

Share News