काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय सर्दीमार्फत जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ जना विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
वितरण गरिएका सामग्रीमा वर्णमाला तथा अंकसम्बन्धी चार्ट, एबीसीडी चार्ट, हप्ताका दिन र महिनासम्बन्धी चार्ट, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल कलर, कापी, पेन्सिल तथा बालबालिकाका लागि खेलमुखी शैक्षिक सामग्री समावेश रहेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।
यसैगरी, बैंकका क्षेत्र प्रमुख भण्डारीले यस्ता सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।