खरानी ग्याङको नाइके भनिएपछि के भन्छन् कलाकार रामकृष्ण ढकाल ?

काठमाडौं । कलाकार रामकृष्ण ढकालले आफूलाई नियोजित रूपमा राजनीतिकरण गरेर फसाउन खोजिएको बताएका छन् । सामाजिक सञ्जालमा आफूलाई ‘खरानी ग्याङको नाइके’ भन्दै आलोचना गरिएकोप्रति उनले आपत्ति जनाएका हुन् ।

वैशाख २५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’को प्रचारका क्रममा दिएको एक अन्तर्वार्तामा ढकालले भदौ २४ गते रवि लामिछाने नख्खु कारागारबाट बाहिरिँदा प्रयोग गरिएको निलो गाडी आफ्नो रहेको र त्यसको चालक पनि आफू नै रहेको बताएका थिए । उक्त अन्तर्वार्ता २०८३ वैशाख २० गते युट्युबमा प्रकाशित भएको थियो ।

यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ढकालविरुद्ध आलोचना सुरु भएको छ । कतिपयले उनको फिल्म ‘मालती मंगले’ बहिष्कार गर्न अभियानसमेत चलाएका छन् ।

भदौ २३ गते भएको आन्दोलनमा ठूलो संख्यामा युवा सडकमा उत्रिएका थिए । आन्दोलनका क्रममा २३ जनाको मृत्यु भएको थियो भने सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनामा आगजनी भएको थियो । त्यही घटनाक्रमबीच विभिन्न कारागारबाट कैदीबन्दी भाग्ने क्रम चलेको थियो । सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि नख्खु कारागारबाट बाहिरिएका थिए ।

ढकालले भने आफू रवि लामिछानेको पुरानो साथी भएकाले मात्रै लिन गएको दाबी गरेका छन् ।

‘मलाई गलत तरिकाले बुझेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । म कुनै राजनीतिक गतिविधिमा संलग्न छैन । रवि लामिछाने मेरो ३० वर्षअघिको साथी हो । जेलबाट छुटिसकेपछि साथीको नाताले गाडी लिएर लिन गएको मात्र हो । जेलबाट निकाल्न गएको होइन,’ ढकालले विकासन्युजसँग भने, ‘मेरो कुनै संलग्नता नभएको विषयलाई लिएर राजनीतिकरण गरिएको छ । मेरो फिल्मलाई असर पार्न यस्तो खेल गरिएको हो ।’

‘मालती मंगले’ हेर्न पुगेका रास्वपा सभापति रवि लामिछानेले पनि सामाजिक सञ्जालमा भइरहेको विरोधबारे प्रतिक्रिया दिएका छन् । उनले ‘कसैलाई के गर्दा रमाइलो लाग्छ, कसैलाई के गर्दा । सामाजिक सञ्जालमा आलोचना गर्दा खुसी मिल्छ भने उनीहरूलाई खुसी हुन दिनुपर्छ,’ रविले भने ।

यसअघि पनि कलाकार प्रकाश सपुतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि उनका गीत-संगीतविरुद्ध सामाजिक सञ्जालमा बहिष्कार अभियान चलाइएको थियो । त्यसबेला सपुतले त्यस्ता अभियानले आफूलाई मानसिक रूपमा असर परेको बताएका थिए ।
 

Share News