काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद खरेलले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रम फैलाउने प्रयास भएको बताएका हुन् । उनले अहिले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको उल्लेख गर्दै आफूले कुनै गल्ती नगरेकाले डराउने अवस्था नरहेको बताएका छन् ।
‘अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला,’ उनले भनेका छन् ।
खरेलले सत्य लुक्न नसक्ने दाबी गर्दै आफ्नो इमानदारी नै राजनीतिक यात्राको आधार भएको उल्लेख गरेका छन् । ‘सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ। मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ,’ उनले भनेका छन् ।
उनले भ्रामक, नियोजित तथा कपोलकल्पित प्रचारले आफ्नो चरित्र र राजनीतिक भविष्यमा असर पार्ने उद्देश्य राखिएको आरोप पनि लगाएका छन् ।