काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावरले ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । प्रति सेयर एक सयका दरले हाइड्रोपावरले ६ करोडको साधारण सेयर निष्कासन गर्न लागेको हाइड्रोपावरका प्रमोटर तथा सञ्चालक माणिकरत्न शाक्यले बताए ।
कुल २० करोड पुँजी रहेको उक्त हाइड्रोपावरमा १४ करोड रुपैयाँको प्रमोटर सेयर रहेको छ । पावर कम्पनीले उक्त पूँजीमध्ये ६ करोडको साधारण सेयर यहि बैशाखभित्र निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले २ लाख कित्ता सेयर स्थानीयलाई दिने छ भने वाँकी चार लाख कित्ता सेयर सर्वसाधारणका लागि यहि वैशाखभित्र निष्कासन गर्ने तयारी गरेको छ ।
धितोपत्र बोर्ड (सेवोन) बाट सेयर निष्कासनको अनुमति आउने वित्तिकै ४ लाख कित्ता सेयर निष्कासन गर्ने शाक्यले बताए । ‘अहिले हामी सेवोनबाट सेयर निष्कासनका लागि अनुमति लिने क्रममा रहेका छौ,’ अनुमति पाउने वित्तिकै सेयर निष्कासन हुने छ ।
रामेछापको चुचुरे गाउँपालिकाको चाके खोलाबाट शुन्य दशमलव ८३ मेगावाट विद्युत उत्पादन गर्न लागिएको शाक्यले बताए । उनका अनुसार आयोजना निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाले यहि वैशाखबाट व्यवसायिक उत्पादन शुरु गर्नेछ । प्रति मेगावाट १७ करोड रुपैयाँको लागतमा उक्त आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।
आयोजनाले अबको दुई वर्षभित्र क्यासक्याबिङमार्फत अन्य स्थानमा पावर हाउसहरू निर्माण गरेर विद्युत क्षमता अभिबृद्धि गर्ने योजना बनाएको छ । उक्त कार्य सम्पन्न भएपछि विद्युत उत्पादन क्षमता बढेर पाँच दशमलव ३ मेगावाट पुग्ने छ । आयोजना आफैले १२ किलो मिटर प्रसारण लाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको छ ।