काठमाडौं । फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामपछि नेकपा एमालेभित्र गतिविधि सुस्त भएको भन्दै कार्यकर्ताहरूले खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन् । चुनावी परिणामपछि पार्टीले अपेक्षित गति लिन नसकेको, संगठन चलायमान बनाउन नसकेको तथा निर्वाचनको औपचारिक समीक्षासमेत नगरेको भन्दै तल्लो तहका नेता कार्यकर्ताहरूले नेतृत्वमाथि प्रश्न उठाउन थालेका हुन् ।
एमालेका विभिन्न तहका कार्यकर्ताहरूका अनुसार निर्वाचनअघि अत्यन्त सक्रिय देखिएको पार्टी अहिले भने निष्क्रियजस्तै बनेको छ । पार्टीका एक पदाधिकारीका अनुसार जिल्ला, पालिका तथा वडा तहमा नियमित बैठकहरू कम हुन थालेका छन् भने जनसंगठनहरू पनि खासै चलायमान देखिएका छैनन् । ‘यो राम्रो संकेत होइन,’ ती पदाधिकारीले भने ।
विशेषगरी चुनावी परिणामपछि पार्टी नेतृत्वले स्पष्ट राजनीतिक सन्देश दिन नसकेको र आगामी रणनीतिबारे कार्यकर्तालाई दिशानिर्देश नगरेको गुनासो जिल्ला तहका नेताहरूमा व्यापक रूपमा सुनिन थालेको छ । निर्वाचनपछि पार्टी एक किसिमले मौन अवस्थामा पुगेको जस्तो देखिन्छ ।
झापा जिल्ला कमिटीका एक नेताले भने, ‘हार कहाँ भयो ? कमजोरी के थियो ? संगठन किन कमजोर भयो ? भन्नेबारे खुला छलफल हुन सकेको छैन ।’
एमालेका शीर्ष नेताहरूले पनि कार्यकर्ताको गुनासो अस्वाभाविक नभएको स्वीकार गर्न थालेका छन् । उनीहरूका अनुसार चुनावपछि समीक्षा, पुनर्गठन र नयाँ रणनीति निर्माणमा पार्टी केही ढिलो भएको छ ।
काठमाडौं क्षेत्र नम्वर १० का क्षेत्रीय सदस्य बद्री बुढाथोकी पार्टीमा माथिदेखि नै शुद्धीकरण आवश्यक रहेको बताउँछन् । उनका अनुसार पार्टीमा माथिल्लो नेतृत्वले अकर्मण्यता देखाउँदा सिँगो पार्टी नै सुस्त भएको छ । केन्द्रीय नेताहरू पनि नेतृत्व अहिले आन्तरिक व्यवस्थापन, शक्ति सन्तुलन र आन्तरिक राजनीतिक समीकरणमा बढी केन्द्रित हुँदा संगठनात्मक गतिविधि प्रभावित भएको मान्दछन् ।
नेताहरू कार्यकर्ताले उठाएको प्रश्न जायज भएको स्वीकार गर्दछन् । पार्टीका कार्यालय सचिव तथा केन्द्रीय सदस्य डा. भीष्म अधिकारीका अनुसार पार्टी अहिले निर्वाचनको समीक्षा र सदस्यता नवीकरणमा केन्द्रित भएको छ । ‘केन्द्रीय कमिटीको बैठक आह्वान गरेर पार्टीले संगठनलाई पुनः चलायमान बनाउने गरी कार्यक्रम ल्याउँदैछ, ’ डा. अधिकारीले जानकारी भने ।
आगामी जेठ ३ गते मदन आश्रित स्मृति दिवशको छेको पारेर एमालेले केही नयाँ सन्देश दिने तयारी गरेको अधिकारीले जानकारी दिए । एमालेले फागुन २१ को निर्वाचनलाई निकै महत्त्वका साथ लिएको थियो । चुनावअघि अध्यक्षदेखि शीर्ष नेतासम्म व्यापक रूपमा चुनावी अभियानमा खटिएका थिए । विभिन्न जिल्लामा सभा, प्रशिक्षण र संगठन विस्तारका कार्यक्रम तीव्र रूपमा सञ्चालन गरिएका थिए । तर, परिणाम सार्वजनिक भएपछि पार्टीभित्र अपेक्षा अनुसार उत्साह कायम रहन सकेन ।
कतिपय नेता–कार्यकर्ताले चुनावी परिणामले पार्टीभित्र मनोवैज्ञानिक असर परेको स्वीकार गरेका छन् । मुस्ताङ जिल्ला कमिटी अध्यक्ष दीपक लालचनका अनुसार केही क्षेत्रमा अपेक्षित सफलता नआएपछि संगठनमा निराशा देखिएको छ । यही कारणले तल्लो तहमा राजनीतिक गतिविधि पनि सुस्त बन्न पुगेको तर्क लाललचनको रहेको छ।
पार्टीका युवा नेताहरू भने नेतृत्वले तत्काल समीक्षा बैठक बोलाएर स्पष्ट रोडम्याप सार्वजनिक गर्नुपर्ने बताउँछन् । गुल्मीका युवा नेता हीरा एसीका अनुसार निर्वाचन परिणामलाई सामान्य रूपमा लिएर अघि बढ्दा संगठनमा थप अन्योल बढ्न सक्छ ।
उनका अनुसार जनताले किन मत दिएनन् भन्ने कुराको गम्भीर समीक्षा आवश्यक छ । एसीले भने, ‘समीक्षा नगरी केवल सामान्य राजनीतिक टिप्पणी गरेर मात्र पुग्दैन । कार्यकर्ताले स्पष्ट दिशा खोजिरहेका छन् ।’
एमाले निकट जनसंगठनहरूमा पनि अहिले सक्रियता कम भएको गुनासो छ । अनेरास्ववियु, राष्ट्रिय युवा संघ, महिला संघ लगायत संगठनहरूले अपेक्षित कार्यक्रम गर्न नसकेको भन्दै तल्लो तहका कार्यकर्ताहरूले नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।
स्थानीय तहका केही नेताहरूका अनुसार पार्टीले अहिले नै संगठन सुदृढीकरण अभियान सञ्चालन नगरे आगामी राजनीतिक प्रतिस्पर्धामा गम्भीर असर पर्न सक्छ । पार्टीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीका सदस्य आनन्द तिवारीका अनुसार निर्वाचनपछि संगठन थप मजबुत बनाउने अवसर भए पनि त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिएको छैन ।
एमालेभित्र अर्को बहस भने नेतृत्वको कार्यशैलीलाई लिएर पनि सुरु भएको छ । केही नेताहरूले पार्टी अत्यधिक रूपमा शीर्ष नेतृत्व केन्द्रित भएको टिप्पणी गर्न थालेका छन् । उनीहरूका अनुसार तल्लो तहका सुझाव र प्रतिक्रिया पार्टी निर्णय प्रक्रियामा पर्याप्त रूपमा समेटिन सकेको छैन । केही शीर्ष नेताहरू खुलैर नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखिरहेका छन् । उनीहरू अब विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै दौडधूप गरिरहेका छन् ।
‘केन्द्रीय तहमा छलफल हुन्छ । तर, त्यो तल्लो तहसम्म पुग्दैन,’ कोशी प्रदेश कमिटीका एक नेताले भने, ‘कार्यकर्तालाई सक्रिय राख्न संवाद र सहभागिता आवश्यक हुन्छ । अहिले त्यसको कमी देखिएको छ ।’
यद्यपि एमाले नेतृत्वले भने पार्टी सुस्त नभएको दाबी गर्दै आएको छ । कार्यालय सचिव डा. अधिकारीका अनुसार पार्टी अहिले आन्तरिक तयारी, संगठनात्मक पुनर्संरचना तथा आगामी राजनीतिक कार्यक्रमको तयारीमा केन्द्रित छ ।
पार्टीका सचिव महेश बस्नेतका अनुसार निर्वाचन समीक्षा र संगठनात्मक अभियानबारे चाँडै निर्णय हुने तयारी भइरहेको छ । बस्नेतले भने, ‘पार्टी निष्क्रिय छैन । केही कार्यक्रमहरू योजनाबद्ध रूपमा अगाडि बढिरहेका छन् । अब समीक्षा बैठक र संगठन सुदृढीकरण अभियान पनि अघि बढ्छ ।’
एमालेभित्र अहिले अर्को चासो विशेष महाधिवेशन केन्द्रित गतिविधिलाई लिएर पनि देखिएको छ । आगामी नेतृत्व, शक्ति सन्तुलन तथा संगठनात्मक समीकरणबारे नेताहरूबीच आन्तरिक छलफल चलिरहेका कारण नियमित राजनीतिक गतिविधिमा असर परेको विश्लेषण पनि भइरहेको छ ।
राजनीतिक विश्लेषकहरू भने कुनै पनि निर्वाचनपछि समीक्षा प्रक्रिया अत्यन्त महत्त्वपूर्ण हुने बताउँछन् । विश्लेषक झलक सुवेदीका अनुसार चुनावी परिणामको वस्तुगत मूल्यांकन नगर्दा पार्टीभित्र अन्योल, असन्तुष्टि र निष्क्रियता बढ्ने खतरा रहन्छ ।
अर्का विश्लेषक नारायण अर्यालका अनुसार एमाले अहिले दुईवटा चुनौतीबीच देखिएको छ । अर्यालका अनुसार एकातिर संगठनलाई पुनः सक्रिय बनाउने आवश्यकता छ भने अर्कोतिर बदलिँदो राजनीतिक परिस्थितिअनुसार नयाँ रणनीति निर्माण गर्ने दबाब एमालेमा रहेको छ । यदि पार्टीले समयमै कार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्न सकेन भने त्यसको असर आगामी चुनावसम्म देखिन सक्ने उनको भनाइ छ ।
तल्लो तहका कार्यकर्ताहरू भने नेतृत्वबाट स्पष्ट सन्देश र सक्रिय कार्यक्रमको प्रतीक्षामा छन् । उनीहरू पार्टीलाई पुनः ऊर्जाशील बनाउन नियमित बैठक, प्रशिक्षण, जनपरिचालन तथा खुला समीक्षा प्रक्रिया तत्काल आवश्यक रहेको बताउँछन् ।
काठमाडाैं १० का नेता बुढाथोकी निर्वाचन जित्ने वा हार्ने कुरा मात्रै नभई हार–जीतपछि पार्टी कसरी अघि बढ्छ भन्ने कुरा अझ महत्त्वपूर्ण हुने उल्लेख गर्छन् । अहिले कार्यकर्ताले त्यही उत्तर खोजिरहेका छन् ।