रास्वपाले दियो मिलन पाण्डेलाई शिक्षा र डा. प्रभातलाई स्टार्टअपको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तार र सुदृढीकरणका लागि आफ्ना विभागहरूमा नयाँ नेतृत्व मनोनयन गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्टअप र र्यापिड एक्सन टीम (आरएटी) मा जिम्मेवारी बाँडफाँट गरेको हो ।

बैठकको निर्णयअनुसार वैकल्पिक राजनीतिको मुद्दामा सक्रिय मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

शिक्षा क्षेत्रको सुधार र नीतिगत बहसका लागि पाण्डेलाई उपयुक्त पात्रका रूपमा रास्वपाले अघि सारेको हो ।

यस्तै, उद्यमशीलता र प्रविधिलाई प्राथमिकता दिँदै रास्वपाले डा. प्रभात अधिकारीलाई स्टार्टअप विभागको प्रमुखमा मनोनयन गरेको छ ।

पछिल्लो समय स्टार्टअप र नवीन व्यवसायीहरूका समस्या सम्बोधन गर्न रास्वपाले यो विभागलाई विशेष महत्व दिँदै आएको छ ।

बैठकले पार्टीको प्रभावकारी उपस्थिति र परिचालनका लागि गठन गरिएको र्यापिड एक्सन टीम (आरएटी) को नेतृत्व पनि टुङ्ग्याएको छ । 

केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा एपीएफका पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ । 

सुरक्षा निकायको लामो अनुभव भएका पूर्व डीआईजी खड्का र सांगठनिक कार्यमा सक्रिय थापाको नेतृत्वले आरएटीलाई थप अनुशासित र प्रभावकारी बनाउने विश्वास पार्टीले लिएको छ ।

Share News