काठमाडौं । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् ।
फिदिम नगरपालिका-२ साम्दिनस्थित कालिका माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामा एक जना पनि ग्रेडेड हुन नसकेको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि उक्त विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन ।
यस्तै, फाल्गुनन्द गाउँपालिका-३ स्थित सारताप मनरत्न माध्यमिक विद्यालयबाट २६ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना पनि उत्तीर्ण भएनन् ।
मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एक संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन् । यहाँको खान्द्रोङ माध्यमिक विद्यालय (मिक्लाजुङ-१) बाट छ जना, चन्द्रोदय माध्यमिक विद्यालय (मिक्लाजुङ-७) बाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुल (मिक्लाजुङ-४) बाट १० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना पनि ग्रेडेड हुन सकेनन् ।
यस्तै, फालेलुङ गाउँपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय, ताङलेपाले समेत कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेन । उक्त विद्यालयबाट चार जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक हजार ३४ जना ग्रेडेड भएका छन्, जुन कुल सङ्ख्याको ४९ प्रतिशत हो । प्राविधिक धारतर्फ एक सय २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ६२ जना ग्रेडेड भएका छन् । पाँचथरमा दुई जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
हिलिहाङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयबाट २४८ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १३४ जना ग्रेडेड भएका छन्, जुन ५४ प्रतिशत हो । यहाँको सिद्ध माध्यमिक विद्यालय, पञ्चमीबाट सबैभन्दा बढी ३८ जना तथा सिद्धकाली माध्यमिक विद्यालय, किवाबाट सबैभन्दा कम १० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । हिलिहाङको नीलगिरि माध्यमिक विद्यालयले सबैभन्दा राम्रो नतिजा निकाल्दै १७ मध्ये १६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको गाउँपालिका शिक्षा शाखाका प्रमुख राजन आचार्यले जानकारी दिए ।
कुम्मायक गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयबाट १६० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ६३ जना ग्रेडेड भएका छन्, जुन ३९ प्रतिशत हो । यहाँको पृथ्वी माध्यमिक विद्यालय, यासोकबाट सबैभन्दा बढी ६६ जना तथा खाल्डे माध्यमिक विद्यालयबाट सबैभन्दा कम नौ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । खाल्डे माध्यमिक विद्यालयले नौमध्ये आठ जना विद्यार्थीलाई उत्तीर्ण गराएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङले जानकारी दिए ।
याङवरक गाउँपालिकाको नतिजा कमजोर देखिएको छ । यहाँका सात वटा विद्यालयबाट २४३ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा केवल ६५ जना ग्रेडेड भएका छन्, जुन २६ प्रतिशत हो । यहाँको थर्पू माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ६८ जना तथा नारायणी माध्यमिक विद्यालयबाट सबैभन्दा कम १४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
तुम्बेवा गाउँपालिकाले भने सन्तोषजनक नतिजा निकालेको छ । यहाँका छ वटा विद्यालयबाट १५४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ८६ जना ग्रेडेड भएका छन्, जुन ६२ प्रतिशत हो । यहाँको इन्द्राणी माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ६३ जना तथा बुद्धेश्वरी माध्यमिक विद्यालयबाट सबैभन्दा कम छ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । इन्द्रावती माध्यमिक विद्यालयले २८ मध्ये २६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
फिदिम नगरपालिकाका २० वटा सामुदायिक माध्यमिक विद्यालयबाट ६०० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा २६९ जना ग्रेडेड भएका छन्, जुन करिब ४५ प्रतिशत हो । फिदिम-२ स्थित कालिका माध्यमिक विद्यालय, साम्दिनबाट आठ जना विद्यार्थी सहभागी भएकामा एक जना पनि ग्रेडेड भएनन् । यस्तै, ४१ जना विद्यार्थी सहभागी भएको सरस्वती माध्यमिक विद्यालय, चोकमागूबाट जम्मा एक जना मात्र ग्रेडेड भएका छन् । फिदिमकै रानीटार माध्यमिक विद्यालयबाट २८ मध्ये २६ जना विद्यार्थी ग्रेडेड भएका छन् । फिदिममा सबैभन्दा बढी फिदिम माध्यमिक विद्यालयबाट १९७ जना तथा सबैभन्दा कम सिंहसिद्ध माध्यमिक विद्यालय, लुङरुपाबाट चार जना विद्यार्थी सहभागी भएका थिए ।
फिदिमका पाँच वटा संस्थागत विद्यालयबाट १२९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १०६ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल, फिदिम-८ बाट परीक्षामा सहभागी सबै नौ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
फाल्गुनन्द गाउँपालिकाका दुई संस्थागतसहित १३ वटा विद्यालयबाट ३०४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १७१ जना ग्रेडेड भएका छन् । सारताप मनरत्न माध्यमिक विद्यालयबाट २६ जना सहभागी भएकामा एक जना पनि उत्तीर्ण भएनन् । सिद्धदेवी माध्यमिक विद्यालय, नवमीडाँडाबाट ३२ मध्ये २९ जना तथा सिद्धेश्वरी माध्यमिक विद्यालयबाट सहभागी चारै जना विद्यार्थी उत्तीर्ण भएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेदनी प्रसाईंले जानकारी दिए । पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी सबै १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
मिक्लाजुङ गाउँपालिकाका १० सामुदायिक र चार संस्थागत गरी १४ विद्यालयबाट १९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १२० जना ग्रेडेड भएका छन्, जुन ६० प्रतिशत हो । खान्द्रोङ माध्यमिक विद्यालय, चन्द्रोदय माध्यमिक विद्यालय र माउण्ट कञ्चन बोर्डिङ स्कुलबाट सहभागी कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । सिंहदेवी माध्यमिक विद्यालय (मिक्लाजुङ-५) बाट परीक्षामा सहभागी पाँचै जना विद्यार्थी ग्रेडेड भएका छन् ।
फालेलुङ गाउँपालिकाका १३ विद्यालयबाट १५४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ७८ जना ग्रेडेड भएका छन्, जुन ५० प्रतिशत हो । सरस्वती माध्यमिक विद्यालय, ताङलेपाबाट सहभागी चारै जना विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।
फालेलुङका छ वटा विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सहभागी भएका थिए । वडा नं. २ को मोतिराम माध्यमिक विद्यालयबाट तीन, पञ्चमुखी माध्यमिक विद्यालयबाट चार, सिद्धेश्वरी माध्यमिक विद्यालयबाट तीन तथा वडा नं। ३ का सरस्वती माध्यमिक विद्यालय, मच्छेबुङबाट छ, विद्याप्रचार माध्यमिक विद्यालयबाट सात र सरस्वती माध्यमिक विद्यालय, ताङलेपाबाट चार जना विद्यार्थी सहभागी भएका थिए । कालिका माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
यस्तै, सरस्वती माध्यमिक विद्यालय, खुङ्गाबाट परीक्षामा सहभागी १५ मध्ये १४ जना विद्यार्थी ग्रेडेड भएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण रिमालले जानकारी दिए ।