स्वदेश तथा विदेशमा लुकाइएको सम्पत्ति खोज्दै आयोग

काठमाडौं । सरकारले सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीले विदेशमा राखेको तथा नाता सम्बन्ध नपर्ने नाममा सम्पत्ति राखिएको पाइएमा सूचना दिन आग्रह गरेको छ । 

सम्पत्ति छानबिन आयोग, २०८३ ले जारी गरेको सूचनामा राजनीतिक पदाधिकारी तथा कर्मचारीले अस्वाभाविक किसिमले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफू र आफ्ना परिवारका सदस्य, आफन्त वा नाता सम्बन्ध नपर्नेको अन्य व्यक्तिका नाममा स्वदेश तथा विदेशमा राखेको सूचना पाइएमा जानकारी गराउन अनुरोध गरिएको हो ।

आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरिएको सूचना, जानकारी वा प्रमाण भएमा उपलब्ध भएमा प्रमाण समेत उल्लेख गरी कार्यालयमा पठाउन अनुरोध गरेको छ । 

‘कार्यालय समयमा सम्भव भएसम्म त्यस्ता व्यक्तिको सम्पर्क नम्बर तथा इमेल ठेगाना सहितको विवरण जो-सुकैले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर समेत खुलाई यस आयोगमा स्वयं उपस्थित भई वा हुलाक मार्फत् वा आयोगको ईमेल ठेगानामा उजुर गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘उजुरी गर्ने उजुरीकर्ताको नाम, थर र वतन समेतको विवरण आयोगमा गोप्य रहने बेहोरासमेत सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

Share News