काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ३ अर्ब ७९ करोड २५ लाख ६५ हजार रुपैयाँ खर्च गरेका छन् । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा सो रकम खर्च गरेका हुन् ।
चालु आवको चैतसम्ममा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम अघिल्लो आवको तुलनामा १५.११ प्रतिशतले घटेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा ४ अर्ब ४६ करोड ७८ लाख ८५ हजार रुपैयाँ खर्च गरेका थिए ।
पछिल्लो समय महँगी बढ्दै गएपनि निर्जीवन बीमा कम्पनीका कर्मचारीको तलबभत्ता भने घटेको तथ्यांकले देखाउँछ । यद्यपि कतिपय कम्पनीले कर्मचारी कटौती गर्दा तलबसुविधा घटेको हुनसक्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू बताउँछन् ।
चैतसम्ममा सबैभन्दा धेरै कर्मचारीको तलबभत्तामा खर्च गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले तेस्रो त्रैमाससम्ममा ४२ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको यही अवधिमा कम्पनीले कर्मचारीको तलबभत्तामा ३९ करोड १८ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ८.५५ प्रतिशतले बढेको छ ।
दोस्रो धेरै कर्मचारीको तलबभत्तामा खर्च गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले तेस्रो त्रैमासम्ममा कर्मचारीको तलबभत्तामा ४१ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले सो शीर्षकमा ४२ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च २.०२ प्रतिशतले घटेको देखिन्छ ।
तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले कर्मचारीको तलबभत्तामा ३९ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ । कर्मचारीको सो शीर्षकमा गरेको खर्च अघिल्लो आवको यही अवधिको तुलनामा १ प्रतिशतले घटेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो ।
त्यसैगरी, हिमालयन एभरेष्टले ३५ करोड २५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३२ करोड ७८ लाख रुपैयाँँ, आइजिआई प्रुडेन्सियलले ३० करोड ३७ लाख रुपैयाँ, युनाइडेट अजोड इन्स्योरेन्सले ३० करोड १४ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन् ।
अघिल्लो आवको तुलनामा हिमालयन एभरेष्टको १४.३८ प्रतिशत, नेको इन्स्योरेन्सको ८.१५ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सले ७.५३ प्रतिशतले कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ भने आईजिआई प्रुडेन्सियलको ७.४२ प्रतिशतले घटेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सले २६ करोड ३९ लाख रुपैयाँ, सानिमा जिआईसीले २२ करोड ७५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २१ करोड ९१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १७ करोड ६० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १४ करोड ७७ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १६ करोड ७४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ६ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ ।
अघिल्लो आवको यही अवधिमा उक्त शीर्षकमा एनएलजी इन्स्योरेन्सले २२ करोड २६ लाख रुपैयाँ, सानिमा जिआईसीले २६ करोड १३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १९ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १६ करोड ३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १७ करोड ३९ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ९ करोड ६३ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४ करोड ९९ लाख रुपैयाँ खर्च गरेका थिए ।
