महावीरले तिरेन बैंकको ऋण, सम्पत्ति लिलामीमा

काठमाडौं । महावीर अटोमोबाइल्सले स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋण चुक्ता नगरेपछि धितोमा रहेको सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले गोप्य शिलबन्दी बोलपत्रमार्फत घरजग्गा लिलाम प्रक्रिया अघि बढाएको हो ।

बैंकका अनुसार व्यावसायिक कर्जाअन्तर्गत तिर्नुपर्ने साँवा, ब्याज तथा अन्य दायित्व समयमै भुक्तानी नगरेपछि पटक-पटक मौखिक तथा लिखित ताकेता गरिएको थियो । तर पनि ऋण असुल नभएपछि धितो लिलाम प्रक्रिया अघि बढाउन बाध्य भएको बैंकले जनाएको छ ।

लिलाममा राखिएको सम्पत्ति मोरङको विराटनगरस्थित महावीर अटोमोबाइल्ससँग सम्बन्धित रहेको छ । उक्त फर्म विराटनगर महानगरपालिका-४ मा दर्ता भएको हो । ऋणी तथा व्यक्तिगत जमानतकर्ताका रूपमा मोहनलाल शर्मा, महेश कुमार शर्मा र ओमप्रकाश शर्माको नाम उल्लेख गरिएको छ ।

बैंकले महेश कुमार शर्माको नाममा रहेको मोरङ जिल्ला कञ्चनबारी वडा नं. ६ स्थित कित्ता नं. १३१२ को ०-२-१२-२ क्षेत्रफलको घरजग्गा तथा त्यसले चर्चेको सम्पूर्ण संरचना लिलाम बिक्रीका लागि राखेको जनाएको छ ।

इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालय वा विराटनगरस्थित महेन्द्रचोक शाखाबाट गोप्य शिलबन्दी बोलपत्र फारम प्राप्त गरी १५ दिनभित्र पेश गर्न सक्नेछन् ।

बैंकले प्राप्त बोलपत्रहरू तोकिएको मितिमा विराटनगरस्थित महेन्द्रचोक शाखा कार्यालयमा खोलिने जनाएको छ । बोलपत्रदाता वा प्रतिनिधि अनुपस्थित भए पनि प्रक्रिया अघि बढ्ने बैंकले स्पष्ट पारेको छ ।

बैंकले लिलाम प्रक्रियाबाट पनि सम्पूर्ण रकम असुल नभए प्रचलित कानुनबमोजिम ऋणी तथा जमानतकर्ताको अन्य चल-अचल सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने जनाएको छ । साथै, तोकिएको अवधिभित्र सम्पूर्ण कर्जा चुक्ता भएमा लिलाम प्रक्रिया रद्द गर्न सकिने बैंकले जनाएकाे छ ।

Share News