प्रधानमन्त्री बालेनले भने- से चिज, डीडीसीको चिज

काठमाडौं । शनिवार सामाजिक सञ्जाल स्क्रोल गरिरहेका धेरैको नजर एउटा तस्बिरमा अडियो । त्यो तस्बिरका पात्र थिए देशका प्रधानमन्त्री बालेन शाह । आफ्नै कार्यकक्षजस्तो देखिने स्थानमा बसेर दुग्ध विकास संस्थान (डीडीसी)को ‘याक चिज’ खाइरहेका थिए । टेबलमा काटिएको चीज, छेउमा अङ्गुर र केही ओखर देखिन्थे । कुनै औपचारिक कार्यक्रम थिएन, न त कुनै लामो सन्देश ।  मात्रै भनिएको थियो ‘से चिज, डीडीसीको चिज’ ।

पछिल्लो समय बालेन शाहका सामाजिक सञ्जाल पोस्टहरू केवल व्यक्तिगत अपडेटमा सीमित रहँदैनन् । उनले के लगाए, के प्रयोग गरे, के खाए भन्ने विषय नै सार्वजनिक बहस बन्न थालेको छ । यसपटक पनि त्यस्तै भयो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गर्ने ‘याक चिज’ सँग देखिएको उनको तस्बिरलाई धेरैले स्वदेशी उत्पादन प्रवर्द्धनको संकेतका रूपमा बुझेका छन् ।

डीडीसी पछिल्लो समय आर्थिक चुनौती र घट्दो व्यापारिक प्रभावका कारण दबाबमा रहेको चर्चा भइरहेका बेला प्रधानमन्त्रीकै तहबाट आएको यस्तो दृश्यलाई कतिपयले सकारात्मक सन्देशका रूपमा हेरेका छन् । ‘सरकारी उत्पादन प्रयोग गरौं’ भन्ने सन्देश प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा पुगेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको टिप्पणी छ ।

बालेन शाहको ‘ब्रान्ड प्रभाव’ अहिले बजारमा छुट्टै देखिन थालेको छ । केही साताअघि उनले सार्वजनिक कार्यक्रममा लगाएको सेतो सर्ट, ट्राउजर र जुत्तासमेत चर्चामा आएका थिए । सामाजिक सञ्जालमा धेरैले प्रधानमन्त्रीले नेपाली उत्पादन प्रयोग गरे बजारलाई ठूलो सहयोग पुग्छ भन्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि उनले लगाएको शैलीसँग मिल्दोजुल्दो कपडा र जुत्ताको माग बजारमा अचानक बढेको व्यवसायीहरू बताउँछन् ।

यसपटक भने चर्चा फेसनभन्दा फरक स्वादमा केन्द्रित भयो । नेपाली दुग्ध उत्पादन, विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने याक चिजलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास भइरहेका बेला प्रधानमन्त्रीको टेबलमा त्यही उत्पादन देखिनु धेरैका लागि अर्थपूर्ण रहन्छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि केहीले यसलाई सामान्य व्यक्तिगत क्षण भनेका छन् भने केहीले ‘नेपाली उत्पादन प्रयोग गरौं’ अभियानसँग जोडेर हेरेका छन् । उनले मात्रै उल्लेख गरेका छन् । 

Share News