राष्ट्रिय पाककला प्रतियोगितामा एरोमा हस्पिटालिटी प्रथम, विजेताहरू माल्टा, यूएई र भारत जाने

काठमाडौं । पाककलामा रुचि राख्ने युवाहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले  आयोजना गरिएको फूड फेस्टिभल २०२६ु तथा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज शनिबार दमकमा सम्पन्न भएको छ ।

प्रतियोगितामा देशका विभिन्न २३ समूहका ६६ जना सहभागीहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको अन्तिम नतिजा अनुसार एरोमा हस्पिटालिटीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । 

प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी, भोजपुरको टोलीले दोस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ पुरस्कार जितेको छ भने युनिभर्सल कलेजको समूह २ ले तेस्रो स्थान सुरक्षित गर्दै नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीहरूलाई कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए । 

यस प्रतियोगिताका विजेताहरूका लागि नगद पुरस्कारका साथै वैदेशिक रोजगारीको अवसर समेत घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले प्रथम हुने टोलीलाई माल्टा, दोस्रो हुनेलाई यूएई र तेस्रो हुने टोलीलाई भारतमा रोजगार व्यवस्थापनका लागि पूर्ण सहयोग र ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रतियोगिताको निर्णायक मण्डलमा क्यानडा र भारतबाट आएका अन्तर्राष्ट्रिय स्तरका विज्ञ सेफहरू सहभागी थिए, जसले खानाको स्वाद, प्रस्तुतीकरण र पकाउने शैलीका आधारमा विजेताहरूको छनोट गरेका थिए ।

कार्यक्रममा बोल्दै आयोजकले सहभागीहरूको मेहनतको उच्च प्रशंसा गर्दै आगामी तेस्रो राष्ट्रिय पाककला चुनौती सन् २०२७ मा आयोजना गरिने जानकारी समेत दिएका छन् । 

यस प्रतियोगिताले नेपाली पाककला क्षेत्रमा नयाँ उर्जा थपेको र युवाहरूलाई व्यवसायिक सेफ बन्न ठूलो प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् ।

Share News