जबजको मर्म आत्मसात गर्दै राष्ट्रिय एकता र समृद्धिका लागि एकताबद्ध हुनुपर्छ : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा दिएको सन्देशमा उनले उक्त दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्तालाई आग्रह गरिन् ।

भण्डारीले जन नेता मदन भण्डारी र जीवराज आश्रित प्रति सच्चा श्रद्धाञ्जली उनीहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने उल्लेख गरिन् ।

उनले जबजले नेपाली राजनीतिमा लोकतान्त्रिक अभ्यास, जन उत्तरदायित्व र राष्ट्रिय स्वाभिमानलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै वर्तमान चुनौतीहरूको सामना गर्न पनि त्यसैको मार्गदर्शन आवश्यक रहेको बताइन् ।

Share News