काठमाडौं । वैदेशिक मुद्रा सञ्चिति जोगाउन र बढ्दो व्यापार घाटा नियन्त्रण गर्न भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नीति ल्याएको छ ।
भारत सरकारले शनिबार एक विशेष सूचना जारी गर्दै चाँदीको आयातलाई सीमित गर्ने नयाँ निर्णय लिएको हो ।
यसअघि चाँदी आयात प्रक्रिया निकै खुकुलो र सहज रहेकोमा अब यसलाई ‘रिस्ट्रिक्टेड’ (प्रतिबन्धित) श्रेणीमा राखिएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सरकारी सूचनामा अब शुद्ध चाँदी मात्र नभई सुन वा प्लाटिनमको जलप लगाइएको चाँदी विदेशबाट मगाउन पनि सरकारको पूर्व अनुमति अनिवार्य गरिएको छ ।
अब कुनै पनि व्यवसायी वा कम्पनीले सरकारबाट विशेष लाइसेन्स नलिई विदेशबाट चाँदी आयात गर्न पाउने छैनन् ।
यो कदम चाल्नुअघि गत मे १३ मा मात्रै भारत सरकारले सुन र चाँदी दुवैको आयात शुल्क ६ प्रतिशतबाट उल्लेख्य वृद्धि गरी १५ प्रतिशत पुर्याएको थियो ।
भारत विश्वमै सुन र चाँदीको सबैभन्दा ठूलो उपभोक्तामध्ये एक देश हो । चाडबाड, विवाह र गरगहनाका लागि भारतमा यी बहुमूल्य धातुको माग सधैं उच्च रहन्छ । तर, देशभित्र यसको उत्पादन नहुने भएकाले अर्बौं डलर खर्चेर विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ ।
पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दी र ऊर्जा संकटका कारण भारतको वैदेशिक मुद्रा सञ्चितिमा दबाब परिरहेको छ । यही संकटलाई मध्यनजर गर्दै केही समयअघि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई विदेशी मुद्रा बचत गर्न र ऊर्जा संकटसँग जुध्न एक वर्षसम्म सुन नकिन्न, पेट्रोल–डिजेलको खपत घटाउन तथा वैदेशिक भ्रमण नगर्न अपिलसमेत गरेका थिए ।
प्रधानमन्त्रीको सोही रणनीतिको निरन्तरता स्वरूप अहिले चाँदी आयातमा पनि अंकुश लगाइएको हो ।