‘कान्स फिल्म फेस्टिभल’ का लागि डंगोल फ्रान्स जाँदै, श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४९ औं कार्यपालिका बैठक विभिन्न १९ वटा प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । 

महानगरपालिकाको सभा कक्षमा आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले शिक्षा, जनशक्ति व्यवस्थापन, पुनर्निर्माण र खेलकुद लगायतका ७ वटा क्षेत्रका विविधसहित १९ वटा प्रस्तावहरू पारित गरेको हो ।

बैठकले विशेष गरी कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी व्यवस्था गरिएको कार्यविधिलाई संशोधनसहित पारित गरेको छ । उक्त प्रस्ताव शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्य सचिव एवं शिक्षा अधिकारी नमराज ढकालले पेश गरेका थिए ।

कार्यविधिमा समेटिएका व्यवस्थाहरूका बारेमा कार्यपालिका सदस्यहरू दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार केसी र आशामान संगतले आफ्ना धारणा राखेका थिए भने रोजिना श्रेष्ठले आइतबार विद्यालय खोल्ने विषयमा एकरूपता ल्याउनुपर्ने सुझाव दिएकी थिइन् ।

बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने ुकान्स फिल्म फेस्टिभलु मा सहभागी हुन जाने प्रस्ताव समेत पारित गरेको छ । 

आज बेलुका उनी कार्यक्रमका लागि प्रस्थान गर्ने भएपछि नफर्किउन्जेलसम्मका लागि ज्येष्ठताका आधारमा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी तोकिएको छ ।

महानगरको बैठकले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी,  नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ ।

वडा नं. १७ मा रहेको कन्या माध्यमिक विद्यालयमा छात्राहरूका लागि छात्रावास निर्माण गरिने, ‘काठमाडौं महानगरपालिका प्रथम उपप्रमुख कप खोखो प्रतियोगिता’ सञ्चालन गर्ने, जेनजी आन्दोलनका क्रममा क्षति भएका जन सेवा प्रहरी, महानगर प्रहरी वृत्त गौशाला र कालीमाटी पुनर्निर्माणका लागि ज्याला पारिश्रमिक उपलब्ध गराउन वडा नं. ७, ८, ९, ११, १२ र १४ वडा समितिको प्रस्ताव अनुमोदन, पदपूर्ति समिति गठन: महानगर प्रहरी बलको कर्मचारी व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्ने निर्णय पनि भएको छ ।

बैठकमा प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, र सामाजिक समितिका संयोजक रामकुमार केसीले आ-आफ्नो समितिका प्रस्तावहरू पेश गरेका थिए ।

समितिका तर्फबाट सदस्य सचिव तथा विभागीय प्रमुखहरू नमराज ढकाल, दिपक अधिकारी र जगदीश अर्यालका साथै वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी विषयमा वातावरण व्यवस्थापन विभागका वरिष्ठ इन्जिनियर रामप्रसाद नेपालले प्रस्ताव पेश गरेका थिए ।

बैठकको विविध विधा अन्तर्गत कार्यपालिका सदस्यहरू ईश्वरमान डंगोल, बालकृष्ण महर्जन, सरोज ढकाल, विमलकुमार होडा, मचाराजा महर्जन, भुवन लामा र रोजिना श्रेष्ठले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरू राखेका थिए ।

Share News