काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बोधिचित्त वृक्षमा फलेका दाना बिक्री गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित सार्वजनिक जग्गामा रहेको बोधिचित्त वृक्षमा फलेका दाना बिक्री गर्न लागिएको जनाएको छ ।
नगर कार्यपालिकाको कार्यालयका अनुसार ग्रिनहिल सिटीको मुख्य प्रवेशद्वारको दक्षिणतर्फ प्रहरी चौकी नजिक रमाइलो समाज क्षेत्रमा रहेको सार्वजनिक जग्गाको बोधिचित्त वृक्षमा फलेका दाना बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो ।
नगरपालिकाले बोधिचित्त दाना बिक्रीका लागि न्यूनतम मूल्य १५ लाख ३५० रुपैयाँ तोकेको छ ।
खरिदकर्ताले वृक्षमा रहेको दाना हालको अवस्थामै सकार्नुपर्नेछ भने आफ्नै संरक्षणमा वृक्षबाट टिपेर लैजानुपर्नेछ । उक्त कार्य कागेश्वरी मनोहरा नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ अन्तर्गत आय ठेक्का बन्दोबस्त सम्बन्धी व्यवस्थाअनुसार गरिनेछ ।