काठमाडौं । राइड–हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता र स्वतन्त्र निर्णयको अधिकारप्रतिको प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ । चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर तयार गरिएको उक्त अभियानले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्ने कम्पनीको विश्वास छ ।
जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने क्याम्पेनमार्फत चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने र आफ्नो समय तथा आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूसँग रहेको निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिनेछ ।
इनड्राइभले नेपालमा सेवा सुरु गरेदेखि यात्रु र चालकबीच एपमार्फत प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर–टु–पियर’ मोडेललाई प्रवर्द्धन गर्दै आएको छ । कम्पनीका अनुसार यस प्रणालीले चालकहरूलाई यात्राको छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईका अनुसार कम्पनीले पछिल्ला पाँच वर्षमा चालकहरूले विश्वास गर्न सक्ने पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा जोड दिएको छ । उनले चालकहरूको आवश्यकता अनुसार लचिलो र सन्तुलित कार्य वातावरण निर्माणमा निरन्तर प्रयास भइरहेको बताइन् ।
कम्पनीका अनुसार ‘आफ्नै रोजाइमा, छैन प्रेसर’ भन्ने सन्देशले डिजिटल यातायात तथा गिग–अर्थतन्त्रमा कार्यरत श्रमिकहरूको कार्य अवस्था र आय सुरक्षाबारे भइरहेको समकालीन बहसलाई समेत प्रतिबिम्बित गर्छ । पछिल्ला वर्षहरूमा राइड–हेलिङ सेवा हजारौं नेपालीका लागि आयआर्जनको महत्वपूर्ण माध्यम बन्दै गएको छ ।
इनड्राइभले नेपाललाई दक्षिण एशियाली सञ्चालनका लागि रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा लिँदै आएको जनाएको छ । कम्पनीले स्थानीय आवश्यकता अनुसार सेवामा सुधार गर्दै दिगो विकास, आर्थिक सशक्तीकरण र समुदायसँग सहकार्यलाई प्राथमिकतामा राखेको बताएको छ ।
यसै अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ क्याम्पेन सुरु गर्ने घोषणा पनि गरेको छ । यसअन्तर्गत विदेशबाट फर्किएर नेपालमै प्लेटफर्म–आधारित अवसरमार्फत जीविकोपार्जन गरिरहेका चालकहरूको प्रेरणादायी कथा सार्वजनिक गरिनेछ ।
कम्पनीका अनुसार उक्त अभियान श्रम आप्रवासन, आर्थिक पुनर्स्थापना र स्वदेशमै रोजगारीका सम्भावनाबारे भइरहेको राष्ट्रिय संवादसँग जोडिएको पहलसमेत हो ।