इजरायल पठाउने नाममा लिइने परीक्षामाथि सांसद राईको प्रश्न

काठमाडाैं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले इजरायल रोजगारीका लागि लिइँदै आएको परीक्षाको प्रक्रियामाथि प्रश्न उठाएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सीआईआईएनले सञ्चालन गरेको भनिएको परीक्षामा सहभागी युवाहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो आएको बताए ।

उनले परीक्षाकाे फाराम भर्ने क्रममा सर्भर बारम्बार डाउन हुने, परीक्षा दिन नसकेका सहभागीले पुनः पाँच हजार रुपैयाँ तिरेर फाराम भर्नुपर्ने अवस्था रहेको तथा यसले युवामाथि अनावश्यक आर्थिक भार थपेको बताए ।

सांसद राईले परीक्षासम्बन्धी समस्याका कारण युवाहरू आन्दोलनमा उत्रिएको र आन्दोलनरत युवालाई प्रहरीले पक्राउ गरिरहेको विषयप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।

'पहिले अर्कै संस्थाले परीक्षा सञ्चालन गर्थ्यो, अहिले अर्कै संस्थालाई किन र कसरी जिम्मेवारी दिइयो ? विद्यार्थी तथा युवाहरूले सास्ती किन भोग्नुपरेको छ ?' उनले प्रश्न गरे ।

परीक्षा सञ्चालन हुने स्थानमा समेत विभिन्न व्यवस्थापकीय समस्या रहेको उल्लेख गर्दै उनले यसले सहभागीहरूलाई थप दुःख र खर्चको भार बोक्न बाध्य बनाएको बताए ।

सांसद राईले घटनाबारे निष्पक्ष छानबिन गरी परीक्षालाई पारदर्शी, व्यवस्थित र सहभागीमैत्री बनाउन सरकारसँग माग गरे । 

 

Share News