काठमाडौं । कुमारी बैंक लिमिटेडले आइएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा ‘उद्यम स्रोत योजना (इरपी)’ मा आधारित एकीकृत डिजिटल कर्जा प्लेटफर्म सार्वजनिक गरेको छ ।
बैंकले यस सेवामार्फत आफ्ना व्यवसायी ग्राहकहरूलाई ‘उद्यम स्रोत योजना प्रणाली’ प्रयोग गरी बिनाधितो कर्जा उपलब्ध गराउने जनाएको छ । यससँगै लामो कागजी प्रक्रिया र बैंकका शाखा धाउनुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ ।
उक्त प्लेटफर्ममार्फत कर्जा आवेदन, स्वीकृति, वितरण र भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाटै सम्पन्न गर्न सकिनेछ । ‘उद्यम स्रोत योजना प्रणाली’सँग प्रत्यक्ष एकीकरण गरिएकाले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समयका तथ्यांकका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सकिने बैंकले जनाएको छ ।
यस प्रकारको तथ्यांकमा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पुर्याउँदै परम्परागत धितोको आवश्यकता बिना नै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ ।
बैंकका अनुसार उक्त प्रणाली प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा ५ लाख रुपैयाँसम्म चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन् । यस्तो कर्जा १२ महिनासम्म समान मासिक किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
सेवाको प्रयोग र मागअनुसार आगामी दिनमा कर्जा सीमा वृद्धि गर्दै प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना रहेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा विस्तार तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने नीतिअनुसार ल्याइएको यस पहलले विशेषगरी साना तथा मझौला उद्यमहरूलाई लाभ पुग्ने विश्वास गरिएको छ ।
देशभर २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको कुमारी बैंकले प्रविधिमैत्री सेवामार्फत डिजिटल वित्तीय रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको छ । बैंकले आगामी दिनमा पनि सहज, छिटो र प्रभावकारी सेवा विस्तारका लागि यस्ता नवप्रवर्तनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।