काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेसँगै नेपालका दुई पुनर्बीमा कम्पनी र लघु बीमा कम्पनीहरूका प्रमुख कार्यकारीहरु कम्पनीको जिम्मेवारीबाट बाहिरिएका छन् । उनीहरुविरुद्द मुद्दा दायर भएसँगै नेपाल रि–इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्ससहित आधा दर्जनभन्दा बढी बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पद गुमाएका छन् ।
विभागले अदालतमा मुद्दा दर्ता गरेसँगै आरोपितहरू स्वतः निलम्बनमा परेका हुन् । निलम्बित व्यक्तिहरूले कानुनी रूपमा सफाइ पाएको खण्डमा र नियामक निकाय एवं सम्बन्धित कम्पनीको सञ्चालक समितिले स्वीकार गरेको अवस्थामा मात्र उनीहरू पुनः पदमा फर्किन सक्ने सम्भावना रहन्छ ।
अभियोगपत्रका अनुसार दीपक भट्ट र सुलभ अग्रवालले बुनेको ठूलो वित्तीय अपराधको सञ्जालमा परेर स्थापित बीमा कम्पनीका सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको जागिर गुमेको हो । यस प्रकरणले नेप्सेमा सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापन तहमा रहेका अन्य व्यक्तिहरूको पद खोसिएको हो ।
यस वित्तीय अपराध प्रकरणमा मुछिएर पद गुमाउनेमा नेपाल रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाm हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव र क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् ।
यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र नाथ रिमालले पनि पद गुमाएका छन् ।
यस प्रकरणमा नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष तथा बहालवाला सहसचिव मदन दाहाल समेत निलम्बनमा पर्ने भएका छन् । बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझामाथि पनि यो प्रकरणमा मुछिएका छन् ।
विशेष अदालतमा मुद्दा दायर भएसँगै कारबाहीमा परेका यी सबै व्यक्तिहरू सरकारी तथा सेयर बजारमा सूचीकृत कम्पनीहरूमा कुनै पनि पदका लागि कानुनी रूपमा अयोग्य घोषित भएका छन् । यो प्रकरणमा बीमा कम्पनीका दर्जनौं सञ्चालक पनि निलम्बनमा परेका छन् ।