भारत-नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं । भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

जेठ २८ र २९ गते काठमाडौंमा आयोजित बैठकमा भारत-नेपालबीचको १०औं परियोजना निर्देशक समिति (प्रोजेक्ट स्टेयरिङ कमिटी-पीएससी) र ८औं संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप-जेडब्ल्युजी) का बैठक सम्पन्न भएका हुन् । 

बैठकमा सञ्चालनमा रहेका भारत-नेपाल सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो । 

यसका साथै रेल क्षेत्रको समग्र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो । 

दुवै देशका प्रतिनिधिमण्डलले सीमापार रेल सञ्जाल विस्तारले नेपाल-भारतबीचको व्यापार, आवागमन, पर्यटन तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा रेल पूर्वाधार विकास, प्राविधिक सहकार्य र भविष्यका सम्भावित परियोजनाबारे समेत विचार–विमर्श भएको जनाइएको छ ।

नेपाल र भारतबीच जयनगर-कुर्था-बिजलपुरा रेलमार्ग सञ्चालनमा आइसकेको छ भने थप सीमापार रेल सम्पर्क परियोजनाहरू कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । 

यस्ता परियोजनाले दुई देशबीचको भौतिक पूर्वाधार सञ्जाल विस्तारसँगै आर्थिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

Share News