काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्मा हेलिकप्टर चढेर राज्यको सम्पत्ति सिध्याउने दिन गएको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार (आज) सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् ।
अघिल्ला सरकारहरूका पालामा बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरूपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिए ।
उनले भने, ‘म आफै पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन ।’
उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले जानकारी दिए ।
मन्त्री गुरुङले विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले भने, ‘हामी सधैं विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन । अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ ।’
गृहमन्त्री गुरुङले देशका उच्च बाढी-पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देशन दिए ।
उनले भने, ‘सबै निकाय एकीकृत टोली बनेर काम गर्ने हो भने विपदमा कसैले पनि ज्यान गुमाउनु पर्दैन । विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस् ।’
उक्त उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो ।