एनसेलले पायो फोरजी सेवा अनुमति, पहिलो चरणमा काठमाडौं, पोखरा र दमौलीमा सेवा दिने

<p>काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो। प्राधिकरण संचालक समितिको बुधबार बसेको वैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिइएको स्रोतले जानकारी दियो। अघिल्लो साता विकास समितिले उपभोक्ताको अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने [&hellip;]</p>

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो। प्राधिकरण संचालक समितिको बुधबार बसेको वैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिइएको स्रोतले जानकारी दियो।

अघिल्लो साता विकास समितिले उपभोक्ताको अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकार निकायलाई एनसेलको फोरजी सेवा स्विकृत गर्न निर्देशन दिएको थियो।

एनसेलले अनुमति पाएको एक महिनाभित्र फोरजी सेवा संचालमा ल्याउन सक्ने कार्ययोजना प्राधिकरणमा पेश गरेको छ। एनसेलले पहिलो चरणमा काठमाडौं सहित पोखरा र दमौलीमा फोरजी सेवा संचालन गर्ने बताएको छ। प्राधिकरणलाई आफ्नो विस्तृत कार्ययोजना पेश गर्दै पहिलो चरणमा तीन ठाउँमा सेवा संचालन गर्ने बताएको हो।

एनसेलले प्राधिकरणलाई बुझाएको विस्तृत कार्ययोजनामा दोस्रो चरणमा विराटनगर, भैरहवा र बुटबल जस्ता प्रमुख सहरमा फोरजी सेवा संचालन गर्ने जनाएको छ।

प्राधिकरणले नेपाल टेलिकमपछि एनसेलसँग आफ्नो सेवा संचालनको विस्तृत कार्ययोजना पेश गर्न तिहार अघि नै अनुरोध गरेको थियो। प्राधिकरणले कुन कुन प्रविधिमा आधारित के कस्तो सेवा ग्राहकलाई प्रदान गर्ने हो, ती सेवाहरु के कसरी सञ्चालन तथा देशभर विस्तार गर्ने हो र यसका लागि न्यूनतम कति फ्रिक्वेन्सी आवश्यक पर्ने हो लगायत जानकारी समावेश गरी विस्तृत कार्ययोजना माग गरिएको थियो।

एनसेलले फोरजी सेवा स्विकृतिको लागि ६ वर्षपछि सरकारले फ्रिक्वेन्सी माग गरेको थियो। पहिलोपटक एनसेलले असोज २०६७ मा फोरजीका लागि प्राधिकरणसमक्ष फ्रिक्वेन्सी माग गरेको थियो।

सरकारले गरेको नीतिगत परिमार्जन अनुरुप फोरजी सेवाका लागि एनसेलले १८०० मेगाहर्ज ब्यान्डमा २० मेगाहर्ज थप फ्रिक्वेन्सी माग गरेको थियो। नीतिले १८०० मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गरेको छ र एउटा सेवा प्रदायक कम्पनीलाई २० मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन सकिने व्यवस्था गरेको छ। अहिले यो ब्यान्डमा एनसेलले ११ मेगाहर्ज र नेपाल टेलिकमले १५ मेगाहर्ज पाएका छन् र यी फ्रिक्वेन्सीहरु टुजी प्रविधिमा आधारित मोबाइल सेवा सञ्चालनमा प्रयोग भइरहेको छन्। प्रविधि तटस्थता अन्तर्गत सेवा प्रदायकले प्राधिकरणको अनुमतिमा सोही ब्यान्डमा तोकिएको फ्रिक्वेन्सी प्रयोग गरी थि्रजी वा फोरजी सेवा दिन सक्छन्।

एनसेल फोरजी सेवा संचालन गर्ने दोस्रो टेलिकम कम्पनी बन्ने भएको छ। यस अघि नै नेपाल टेलिकमले यो सेवा लिइ सकेको छ। नेपाल टेलिकमले पुस १ गतेबाट काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरिसकेको छ।

फोरजी थि्रजीको विकसित रुप हो। फोरजीमा मोबाइल इन्टरनेटको गतिमा सुधार हुने र ग्राहकले सजिलैसँग अनलाइन भिडियो हेर्न, भिडियो कन्फ्रेन्सिङ, गेम खेल्न, ठूला फाइल सजिलै डाउनलोड गर्न सक्नेछन्। भारतमा हाल ४० एमबी प्रति सेकेन्डसम्मको गतिमा यो सेवा त्यहाँका कम्पनीले उपलब्ध गराइरहेका छन्। नेपाल भने लामो समयको प्रयासपछि सरकारले फोरजी सेवा संचालन गर्न सक्ने अनुमती दिन थालेको हो। टेलिकम कम्पनीहरूले भने पाँच छ वर्ष पहिलादेखी नै फोरजी सेवा संचालन गर्न सक्ने बताउँदै आएका थिए।

एनसेलले अहिले काठमाडौंमा आफ्नो थि्रजी प्रविधिमा आधारित नेटवर्कमा आधुनिकीकरण गरेर २१ एमबी प्रतिसेकेन्ड गतिसम्मको इन्टरनेट सेवा दिइरहेको छ र मोबाइल सेवा ७५ जिल्लामा पुर्‍याइसकेको जनाएको छ।

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार, गत आर्थिक वर्षको अन्त्यसम्ममा एनसेलको डाटा सेवा ५८ लाख ५५ हजार ४ सय ६४ ग्राहकले लिएका छन्। १ करोड ४१ लाख ४५ हजार ७ सय ५८ ग्राहकले यस कम्पनीको मोबाइल सेवा लिएका छन्। (नागरिकबाट)

Share News