स्थानिय चुनावको प्रभाव सुनबजारमा, विवाहको सिजनमै सुनको कारोबार सुस्त, ६० प्रतिशतले घट्यो माग

<p>काठमाडौं । विवाहको सिजनमै सुनको कारोबारमा मन्दी छाएको छ । गत वर्षको तुलनामा यसपाली बैशाखमा सुनको कारोबार ६० प्रतिशतले घटेको व्यवसायी बताउछन् । नेपालमा विवाहको लगन पर्ने सिजनमा अत्याधिक सुनको कारोबार हुनेगरेको छ । तर यसपाली वैवाहिक सिजन बैशाखमा नै सुनको कारोबार सुस्त भएको छ । विगतका वर्षहरुमा दैनिक ५० किलोसम्म सुनको माग भएकोमा यसपाली [&hellip;]</p>

काठमाडौं । विवाहको सिजनमै सुनको कारोबारमा मन्दी छाएको छ । गत वर्षको तुलनामा यसपाली बैशाखमा सुनको कारोबार ६० प्रतिशतले घटेको व्यवसायी बताउछन् ।

नेपालमा विवाहको लगन पर्ने सिजनमा अत्याधिक सुनको कारोबार हुनेगरेको छ । तर यसपाली वैवाहिक सिजन बैशाखमा नै सुनको कारोबार सुस्त भएको छ ।

विगतका वर्षहरुमा दैनिक ५० किलोसम्म सुनको माग भएकोमा यसपाली २० किलो सुनले बजार धानिरहेको सुन व्यवसायी बताउछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार गत वर्षको तुलनामा सुनको माग ६० प्रतिशतले घटेको छ। उनले भने, ‘गत वर्ष हामी बजारमा सुनको अभाव बढेर सरकारसँग कोटा बढाउन माग गरिरहेका थियौं । यसपाली सुनको अभाव भएको सुन्नुपरेको छैन ।’

चुनावले घटायो माग

सबैजना बैशाख ३१ गते स्थानिय निकायको चुनावको तयारीमा जुटेकाले सुन बजार प्रभावित भएको शाक्यले बताए । ‘सधै बैशाखमा विवाह व्रतबन्धमा व्यस्त हुने नेपालीहरु यसपाली स्थानिय निकायको चुनावको तयारीमा व्यस्त छन्, ‘उनले भने, ‘पुरा देश नै स्थानिय निकायको चुनावमा व्यस्त हुँदा लगनमा पनि सुन बजार सुस्त भएको हो ।’

सुनको भाउ निरन्तर ओरालो

बैशाख महिनाको सुरुवातदेखि सुनको भाउमा निरन्तर ओरालो लागिरहेको छ । सुरुवातदेखि हालसम्ममा सुनको भाउमा तोलामा २२०० रुपैयाँले घटेको छ ।

मंगलबारसम्ममाको अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंष १२२८ अमेरिकी डलरसम्म पुगेको छ । आर्थिक क्षेत्रका अन्य लगानीका क्षेत्रमा सुधार आइरहेका कारणले सुनको भाउ सस्तिएको अनुमान गरिएको छ । सेयर बजार लगायत अन्य क्षेत्रमा लगानी असुरक्षित हुने स्थितिमा लगानीकर्ताले लगानी जोगाउन सुनमा लगानी गर्दछन् । जसकारण सुनलाई ‘सेफ हेभन’ का रुपमा लिइन्छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएपछि नेपाली सुनबजारपनि प्रभावित भएको शाक्यले बताए । आइतबार फ्रान्समा नयाँ राजनीतिक शक्तिका प्रमुख इम्यानुअल मेक्रोनले राष्ट्रपतिय चुनाव जितेपछि आर्थिक क्षेत्रमा प्रभाव पर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आगामी जुलाईसम्ममा सुनको भाउ प्रति औंष १२०० अमेरिकी डलर सम्ममा झर्ने अनुमान गरिएको छ ।

नेपालमा के हुन्छ ?

नेपाली बजारमा साताभरमा सुनको भाउ प्रति तोला २०/३० रुपैयाँसम्मले गिरावट आउने सुन व्यवसायीको अनुमान छ ।

साताको सुरुवातदेखि सोमबारसम्ममा सुनको भाउ स्थिर नै छ । शाक्यले भने, ‘अन्तराष्ट्रिय बजारमा सुन बजार कता जान्छ भन्न सकिने अवस्था छैन । मेरो विचारमा यो सातामा सुनको भाउमा धेरै ठुलो अन्तर आउदैन ।’

Share News