नेपालको सेयर बजार: हग्नेलाई भन्दा देख्नेलाई लाज-डा. रेवत बहादुर कार्की

<p>पुँजी बजारको नियामक निकायका रुपमा हामीले मर्चेण्ट बैंकरहरुको संख्या घटाउन चाहेका छौं । नेपाल राष्ट्र बैंकले पनि वित्तिय संस्थाको ढोका बन्द गरिराखेको छ । बीमा समितिले चाँही अलिअलि खुल्ला गरेको देखिन्छ । मर्चेण्ट बैंकरको कार्य क्षेत्र सिमित भएकाले हामीले संख्या घटाउनेबारे सोचेका हौं । अहिले मर्चेण्ट बैंकको दर्ता बन्द गरिएको छ । पुँजी वृद्धि गर्दैछौं [&hellip;]</p>

पुँजी बजारको नियामक निकायका रुपमा हामीले मर्चेण्ट बैंकरहरुको संख्या घटाउन चाहेका छौं । नेपाल राष्ट्र बैंकले पनि वित्तिय संस्थाको ढोका बन्द गरिराखेको छ । बीमा समितिले चाँही अलिअलि खुल्ला गरेको देखिन्छ । मर्चेण्ट बैंकरको कार्य क्षेत्र सिमित भएकाले हामीले संख्या घटाउनेबारे सोचेका हौं । अहिले मर्चेण्ट बैंकको दर्ता बन्द गरिएको छ । पुँजी वृद्धि गर्दैछौं । खुल्ला अर्थतन्त्रमा ढोका बन्द गरिनु हुन्न तर ढोका बलियो बनाउनुपर्छ । कार्य क्षेत्र सिमित हुने तर संख्या धेरै हुने कुराले राम्रो गर्दैन । हामीले कार्य क्षेत्र बढाउने र संख्या घटाउनेबारे काम अघि बढाईसकेका छौं ।

अहिले २३ वटा मर्चेण्ट बैंकर छन् । लाइसेन्स बन्द गर्दा ६ वा ७ वटा कम्पनी पाइपलाइनमा थिए । सनराईज क्यापिटल २४ औं हुने सम्भावना थियो तर यो एनसीएमसँग मिलेर २३ औं कम्पनीका रुपमा दर्ज भयो । नेपालको पहिलो मर्चेण्ट बैंकर पनि एनसिएम नै थियो । हामीले बोर्डको बार्षिकोत्सवमा एनसिएमलाई सम्मान गर्ने भनेका थियौं । अब एनसिएम पहिलो कम्पनीबाट २३ औं कम्पनी बनेको छ । तै पनि यसलाई सम्मान गर्छाै ।

नेपालमा पहिलो सेयर निष्काशन नेपाल बैंक र बिराटनगर जुटमिलको भएको थियो १९९४ मा । तर बैंकलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकको स्थापना बिस २०१३ सालमा मात्रै भएको थियो । धितोपत्र बोर्डको स्थापना त झन प्रजातन्त्र पुनस्थापना पछि मात्रै भएको हो ।

नेपालमा अर्थतन्त्रको गति बढेपछि मात्रै पुँजी बजारको विकास भएको देखिन्छ । अन्य मुलुकमा पनि अर्थतन्त्र गतिलो भएपछि मात्रै पुँजी बजार अघि बढेको देखिन्छ । अहिले हामी दक्षिण एसियाका ८ मुलुकमध्ये ५ औं नम्बरमा छौं । अन्तराष्ट्रिय रेगुलेटरले पनि हाम्रो सुधारको कामलाई हेरेर सदस्यता दिईसकेको छ ।

हामीले पुँजी बजारमा श्रोत बढाउने, नयाँ प्रबिधी भित्र्याउने, ऐन नियमावली संसोधन गर्ने लगायतका काम गरिरहेका छौं । हामीले २४ बर्षको इतिहासमा पहिलो पटक संरचनात्मक परिवर्तन गरेका छौं । सुरुका चार पाँच बर्ष मात्रै फिक्स प्राइस हुने संसारको नियम छ । तर हामीले २४/२५ बर्षसम्म फिक्स प्राइससिङको व्यवस्थालाई निरन्तरता दिएको छौं । अब फ्रि प्राइसिङ लागु गर्दैछौं । गुडविल भएका र रियल सेक्टरका कम्पनीलाई सेयर बजारमा ल्याउने काम हुँदैछ । फ्री प्राइसिङका आधारहरु पनि हामी तयार गरिरहेका छौं । मौद्रिक नितीले पनि रियल सेक्टरलाई पुँजी बजारमा आउन ब्याजदरमा सहुलियत लगायतका सुबिधा दिनुपर्नेछ ।

फ्रि प्राइसिङले पुँजी बजारको विकासमा ठुलो योगदान गर्छ । अहिले पनि पुँजी बजारमा भिआइपी सेयर होल्डरका रुपमा चर्चा हुने गरेको छ । यस्तो अवस्थाको अन्त्य आवश्यक छ । हामीले बार्षिक साधारण सभालाई धेरै व्यवस्थित गरिसकेका छौं । हामी प्रणालीको विकासद्धारा पुँजी बजारको विकास गर्न लागिपरेका छौं । यसपालीको बजेटमा रियल सेक्टरका कम्पनीलाई १५ प्रतिशत कर छुट दिने सुबिधा आउँदैछ ।

खुल्ला बजारमा धेरै पारदर्शीता आवश्यक छ । मर्चेण्ट बैंकिङमा छुट्टै नियमावली ल्याएर हामीले नियमन गरिरहेका छौं । कतिपय अवस्थामा अस्वस्थ प्रतिष्पर्धा पनि छ । नाफा कमाउनै ध्यान दिने प्रवृत्ति पनि छ । ३० देखि ४० हजारसम्म सेवा शुल्क लिने प्रचलन पनि छ । हामीले न्युनतम २ प्रतिशतको सेवा शुल्क तोकि दिएका छौं । कर्मचारीलाई इन्टर्नशिपमा लगाउने प्रवृत्तिलाई निरुत्साहित गर्न कर्मचारी नियमावली पनि ल्याउँदैछौं मर्चेण्ट बैंकिङमा । ग्रयाजुयट गरेका कर्मचारीलाई पाँच हजारमा इन्टर्न गराउन अब पाइँदैन् । साना तिना लगानी कर्तालाई लगानी कर्ता नै नमान्ने चलन पनि छ । साना हुन वा ठुला ति भगवान हुन पुँजी बजारका लागि ।

हाम्रो पुँजी बजार हग्नेलाई भन्दा देख्नेलाई लाज भन्ने अवस्थामा छ । स्वस्थ प्रतिष्पर्धा हुनु पर्यो भनेर हामी लागिपरेका छौं र हामीलाई नै लाज लागिरहेको छ । नयाँ स्टक एक्सचेञ्ज थपिँदैछ । २०६४ सम्म नेप्से एनजिओ जस्तो थियो गैर नाफा मुखी । मैले नेप्सेको नेतृत्व सम्हालेपछि त्यसलाई नाफा मुखी बनाएको हुँ । नेपाल राष्ट्र बैंक ऐनमै नेप्सेमा एउटै संस्थाको सेयर १० प्रतिशत भन्दा बढि हुन नपाउने भन्ने उल्लेख गरिएको छ । तर यसमा अझै पनि नेप्सेको सेयर संरचना मिलेको छैन् । त्यसकारण हामीले अहिले अर्काे एउटा स्टक कम्पनी सञ्चालनका लागि प्रक्रिया अघि बढाएका हौं । त्यस्तो स्टक एक्सचेञ्ज निजी क्षेत्रको सहभागीतामा सञ्चालन हुनेछ । देशैभर पुँजी बजार विस्तार भैसकेको छ । २३ सय बैंक तथा वित्तिय संस्थाका शाखामा आस्बा लागु हुँदैछ । ७५ वटै जिल्लामा पनि दोश्रो बजारको पहुँच विस्तार गर्नुपर्नेछ । त्यसका लागि निजी क्षेत्रको स्टक कम्पनी ल्याउन खोजेका हौं । अझै पनि हामीसँग सरकारी स्टक कम्पनी छ भन्यो भने विदेशीले जिब्रो टोक्छन् ।

बोर्डले काम गर्ने स्पिड अनुसार नै अहिले कम्पनी ऐनको पहिलो संसोधन भएको छ । नेपाल टेलिकमलाई सूचिकृत गराउने मान्छे पनि मै हुँ । पाँच करोड भन्दा बढि चुक्ता पुँजी भएका दुर सञ्चार कम्पनी पनि २ बर्षभित्रै सूचिकृत हुनै पर्ने व्यवस्था भएको छ । त्यसले पनि राम्रो काम गर्छ र रियल सेक्टर कम्पनीलाई पुँजी बजारमा ल्याउन सघाउ पुर्याउँछ । सूचिकृत कम्पनीलाई पनि गभर्नेन्स कोड लागु गराउँदैछौं ।

म नेप्सेमा हुँदा एउटा बैंकले राइट सेयर दिने निर्णय माइन्युटमा लेखि नसक्दै एक जना सञ्चालकले ट्वाइलेटमा गएर ब्रोकरलाई सबै सेयर आफ्नो नाममा किनिदिन भनेका थिए । अहिले पनि त्यस्ता घट्ना छिपुट आईरहेका छन् । हामीले एउटा ब्रोकरलाई यस्तो घट्नामा संलग्न रहेको पुष्टि भएपछि कारवाही गरिसकेका छौं ।

सबैले दल र सरकारले पनि अब आर्थिक विकास भनेका छन् । त्यसमा पुँजी बजारको ठुलो योगदान रहन्छ । यसपाली ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने देखिएको छ । गत बर्ष एक प्रतिशत भन्दा कम वृद्धिदर भएकाले यसपाली ७ प्रतिशत मात्रै पुगेको हो । गत बर्ष ४ प्रतिशत आर्थिक वृद्धिदर पुगेका भए यसपाली १० प्रतिशत नाघ्ने थियो । जे होस मुलुकको आर्थिक विकासमा पुँजी बजारको ठुलो योगदान रहन्छ । त्यसका लागि हामी निायमक देखि सूचिकृत कम्पनी, मर्चेण्ट बैंकर, ब्रोकर, लगानी कर्ता सबैले ठिक ढंगले काम गर्नुपर्छ ।
(सनराइज क्यापिटलको सेवा आरम्भ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले व्यक्त गरेको विचार)

Share News