नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा

<p>बनियानी (झापा), २१ जेठ । मुलुककै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यतिबेला चुनावी रापले तातेको छ ।  विशेषगरी ठूला चार दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले पनि यहाँ चुनावी माहोल तातेको हो । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै पदमा उम्मेदवार घोषणा गरिसकेका छन् । मतदातालाई आफ्नो पक्षमा [&hellip;]</p>

बनियानी (झापा), २१ जेठ । मुलुककै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यतिबेला चुनावी रापले तातेको छ ।  विशेषगरी ठूला चार दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले पनि यहाँ चुनावी माहोल तातेको हो । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै पदमा उम्मेदवार घोषणा गरिसकेका छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न यहाँका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । झन्डा, पोस्टर, चुनाव चिह्न अङ्कित टि–सर्ट जस्ता प्रचार सामग्रीका साथ उनीहरु चुनावी दौडमा व्यस्त छन् । विकास निर्माणको दृष्टिले पछि परेको यो गाउँपालिकामा सबै दलका उम्मेदवारले विकास निर्माणलाई नै आफ्नो मुख्य एजेन्डाका रुपमा अघि सारेका छन् । सडक, बिजुली, खानेपानी, धार्मिक तथा पर्यटकीयस्थलको विकास नै उम्मेदवारको साझा एजेन्डा बनेको छ ।

माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका हंसनारायण राजवंशीले कचनकवल गाउँँपालिकालाई उत्कृष्ट पर्यटकीयस्थलका रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यहाँ सञ्चालन भइरहेको छ,’ उनले भने– ‘त्यसलाई आत्मसात् गर्दै कचनकवललाई कृषि सहरका रुपमा विकास गर्ने लक्ष्य छ ।’ सडक, बिजुली, पानी लगायतका पूर्वाधार यहाँको मुख्य समस्या भएकाले त्यसको समाधानतर्फ आफू उन्मुख हुने उनको भनाइ छ । ‘यहाँ मजदुर वर्गको बाहुल्यता छ, चिया मजदुर पनि धरै छन्,’ अध्यक्षका प्रत्याशी राजवंशीले भने – ‘मजदुरका समस्या समाधान गर्छौं ।’ बर्सेनि डुबानको समस्या खेप्दै आएका यहाँका बासिन्दा लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने उनको सोच छ ।

‘हाम्रो मुख्य एजेन्डा नै विकास र समृद्धि हो,’ काँग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न चुनावी मैदानमा उत्रिएका कालेन्द्र राजवंशीले भने – ‘यहाँ बाटो, बिजुली, खानेपानीलगायत सबै कुराको समस्या छ । सर्वसाधारण जनताले कष्कटर जीवनयापन गर्दै आएका छन् । उनीहरुको दुःखलाई सुखमा बदल्ने सोच छ ।’ समग्र कचनकवल गाउँपालिकाको विकासतर्फ आफू अग्रसर हुने उनले भने ।

एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका शेरबहादुर खत्रीले आफ्नो मुख्य एजेन्डा कृषिको विकास भएको बताए ।  कृषिको विकासबाट मात्र आर्थिक समृद्धि हासिल हुने भएकाले त्यसतर्फ जोड दिएको उनकाे भनाइ छ । ‘घरघरमा सिँचाइका लागि मोटर जडान गर्न सहयोग गर्छौं,’ उले भने – ‘कृषिसँग सम्बन्धित समग्र क्षेत्रको विकास हाम्रो मुख्य एजेन्डा हो ।’

राप्रपाका तर्फबाट अध्यक्ष पदका प्रत्याशी अन्जर आलमले बर्सेनि हात्तीको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुने गरेको बताउँदै त्यसको समाधानका साथै मेची नदीले गर्दै आएको कटान समस्यालाई हल गर्न तटबन्ध निर्माण गर्ने अठोट व्यक्त गरे ।  कचनकवल गाउँपालिका साबिक छवटा गाविस बनियानी, केचना, पाठामारी, बालुबाडी, घेराबारी र पथपरिया मिलेर बनेको हो । यहाँ १३ हजार १३ पुरुष र १२ हजार ७३६ महिला गरी २५ हजार ७४९ मतदाता र ३६ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सातवटा वडामा विभाजित कचनकवल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ३७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस क्षेत्रमा आदिवासी जनजाति समुदायको बाहुल्यता छ । रासस

Share News